मंगलबार सेयर बजार घटेपनि कारोबार रकममा भने सुधार आएको छ । सोमबार बजार बढ्दा पनि घटेको कारोबार मंगलबार भने १७ करोड रुपैयाँले बढेको हो । सोमबार ३५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ५२ करोड ८५ लाख ८६ हजार दुई सय २८ रुपैयाँको कारोबार भएको छ । १३७ वटा कम्पनीको नौ लाख ४५ हजार दुई सय २८ कित्ता सेयर तीन हजार चार सय १७ पटक खरिदविक्री भएका बजार ८.१४ अंकको गिरावटसँगै बन्द भएको छ । जसअनुसार, नेप्से परिसूचक १३४७.०९ अंकमा ओर्लिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर सेयरको कारोबार ह्वात्तै बढेपछि समग्र कारोबार रकममा वृद्धि देखिएको हो । मंगलबार मात्रै यो बैंकको प्रोमोटर सेयरको २१ करोड नौ लाख ९७ हजार एक सय ९४ रुपैयाँको कारोबार भएका छ । यसबाहेक, एसियन लाइफ इन्स्योरेन्स र सानिमा बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सको क्रमशः एक करोड ९२ लाख, एक करोड ५९ लाख, एक करोड ५५ लाख र एक करोड २६ लाखको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स लगायतको ८५ लाखमाथिको कारोबार भएको छ ।
उत्पादनमूलक समूहबाहेक मंगलबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ११.७२, २७.२, १.४९, १०.४७, २.२, ५.६६ र १.७३ अंकले घट्दा उत्पादनमूलक भने ४.६६ अंकले बढेको छ ।
जम्मा ३१ कम्पनीका सेयरधनीले अधिकतम ४.४ प्रतिशतदेखि न्यूनतम ०.२२७३ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्त बढाएका छन् । सेती फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै र कृषि विकास बैंकका सेयरधनीले सबैभन्दा कम कमाएका हुन् । यसबाहेक, हिमालयन डिस्टीलरी, सिन्धु विकास बैंक, रिलायबल माइक्रोफाइनान्स, मिथिला लघुवित्त, खानीखोला हाइड्रो, नेरुडे लघुवित्त, लक्ष्मी बैंक, किसान माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको वेरियन्टल होटल्सका सेयरधनीले ५.६८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा अपि पावर कम्पनी र महालक्ष्मी विकास बैंकका सेयरधनीले पनि ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । यती डेभलपमेन्ट बैंक, सगरमाथा इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, सूर्या लाइफ इन्स्योरेन्स, सिनर्जी फाइनान्स, ज्योति विकास बैंक, नयाँ नेपाल लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



