चैत्र ६ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकले जारी गर्न लागेको हकप्रद सेयर खरिद गर्नका लागि आवेदन दिन पाउने भएका छन् । बैंकले हकप्रद प्रयोजनका लागि चैत्र ७ गतेदेखि सेयरधनीले पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, एनआईसी एसिया बैंकको हकप्रद भर्न चैत्र ६ गतेभित्रमा दोस्रो बजारमा बैंकको सेयर खरिद गरिसक्नुपर्नेछ ।
बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट गत फागुन २४ गते अनुमति पाइसकेको छ । हकप्रद निष्काशनको अनुमतिका लागि बैंकले गत माघ ५ गते बोर्डमा आवेदन दिएको थियो ।
बैंकले एक सय रुपैयाँ अंकित दरमा ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको ८७ लाख २९ हजार चार सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको २६ औँ वार्षिक साधारणसभाबाट पारित भएबमोजिम बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गरिने बताइएको छ ।
बैंकले गत आर्थिक वर्षको कमाईबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । जसपश्चात् बैंकको चुक्तापुँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यसको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन गत वर्ष पनि २५ प्रतिशत हकप्रद निष्कासन गरेको थियो ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ भने प्रति सेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ५० पैसा छ ।



