सुरुवातमा निराशाजनक रहेपनि यो साताको अन्त्यमा सेयर बजारले बुलिस ट्रेण्डलाई निम्तो दिएर गएको छ । साताको चार दिन मात्रै कारोबार भएको बजारमा पहिलो दुई दिन दोहोरो अंकले घटेको बजार अन्तिम दुई दिनमा दोहोरो अंकले नै बढेका छन् । आइतबार २४.४५ अंकले घटेको नेप्से परिसूचक मंगलबार १३.७२ अंकले घट्यो । सेयर बजारको यो गिरावटको क्रम यो साता मात्र नभएर केही दिनदेखि नै लगातार चलिरहेको थियो । यद्यपि, बुधबार आएर सो क्रममा ब्रेक लाग्यो र नेप्से परिसूचकमा १७.५१ अंकको वृद्धि देखियो । सोही क्रम जारी रहँदै विहीबार पनि बजार १२.६१ अंकले बढेर १३२९.४१ अंकमा पुग्यो । गत साताको अन्तिम दिन नेप्से परिसूचक १३३७.४६ अंकमा थियो । जसअनुसार, साताभरमा सेयर बजारमा सामान्य ८.०५ अंकको गिरावट आएको छ । गत साता सेयर बजार ६.३९ अंकले घटेको थियो । बजारमा गिरावट आएको भएपनि लगानीकर्ताहरुमा आशा भने जगाएर गएको छ ।
यो साता कारोबार रकममा भने ठूलै उतारचढाव देखियो । कतिपय अवस्थामा त परिसूचक र कारोबार रकमको तालमेल नै देखिएन । साताको आइतबार र मंगलबार बजार दोहोरो अंकले घट्दा क्रमशः २५ करोड र ५४ करोडको कारोबार भयो । दोहोरो अंकले परिसूचक बढेको दिन बुधबार र विहीबार भने क्रमशः ३२ करोड र ४१ करोडको कारोबार भयो । समग्रमा साताभरमा एक अर्ब ५३ करोड ३१ लाख ६४ हजार एक सय ३३ रुपैयाँ पुँजी परिचालन भयो । गत साता दुई अर्ब ७४ करोड ११ लाख ७५ हजार सात सय ४२ रुपैयाँ पुँजी परिचालन भएको थियो ।
यो साता कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको हकप्रद सेयर निष्काशनको खबरले सेयर लगानीकर्तालाई आकर्षित गरेको देखिन्छ । ५० प्रतिशत हकप्रद निष्काशनको अन्तिम चरणमा रहेको कुमारीले पुनः २० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेसँगै कम्पनीको सेयरमा आकर्षण बढेको पाइएको छ । यो साता मात्रै कुमारी बैंकको पौने १८ करोडको कारोबार भएको छ । यसबाहेक, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, शिखर इन्स्योरेन्स लगायतको पनि राम्रो कारोबार भएको छ । आरएसडीसी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, सगरमाथा इन्स्योरेन्स लगायतका सेयरधनीले कमाएका छन् भने सिन्धु विकास बैंक, किसान माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त लगायतका सेयरधनीले गुमाएका छन् ।


