केही दिनदेखि लगातार ओरालो लागिरहेको सेयर बजार बुधबार आएर दोहोरो अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्दो क्रममा रहेको बजार अन्ततः १७.५१ अंकको वृद्धिसँगै १३१६.८० अंकमा पुगेर बन्द भएको छ । फाइनान्सबाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह २१४.७१ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक र अन्य क्रमशः १३.५२, २६.९८, १५.३१, २.७९, ३०.०९ र ४.६२ अंकले बढेका छन् । फाइनान्स भने ०.६५ अंकले घटेको छ ।
कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार ५० करोड नाघेको कारोबार बुधबार ३२ करोडमा सीमित भएको छ । दिनभरिमा १३५ वटा कम्पनीको छ लाख ५० हजार १४ कित्ता सेयर तीन हजार सात सय ३६ पटक खरिदविक्री हुँदा कुल ३२ करोड पाँच लाख ४२ हजार पाँच सय ५६ रुपैयाँ पुँजी परिचालन भएको छ । जसमध्ये, कुमारी बैंकको तीन करोड ९४ लाख २० हजार आठ सय ६६ रुपैयाँको कारोबार भएको छ भने नेपाल बंगलादेश बैंकको पनि तीन करोडको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको सवा दुई करोड र नविल बैंकको एक करोड १६ लाखको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, युनाइटेड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको क्रमशः ८० करोड, ७८ करोड, ७४ करोड, ७० करोड र ६९ करोडको कारोबार भएको छ ।
प्रिमियर इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा आरएसडीसी लघुवित्तका सेयरधनीले ९.९८ प्रतिशतका दरले कमाएका छन् । सिनर्जी फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, सगरमाथा इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, छिमेक लघुवित्त लगायतका सेयरधनीले पनि धेरै कमाएका छन् ।
यता, सिन्धु विकास बैंकका सेयरधनीले ९.७४ प्रतिशतका दरले गुमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंक, सेती फाइनान्स र पूर्णिमा विकास बैंकका सेयरधनीले ६ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । अरुण फाइनान्स, बुटवल पावर कम्पनी, राप्तीभेरी विकास बैंक, दिव्यश्वरी हाइड्रो, किसान माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


