Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको सेयर बजार : परिसूचक घट्यो तर कारोबार बढ्यो

२०७३ फाल्गुन १३ गते

गत साता ४७.६२ अंकले बढेको सेयर बजारमा यो साता गिरावट आएको छ । साताको पहिलो दिन दोहोरो अंकले बढेर सकारात्मक सुरुवात गरेको सेयर बजारले सोमबारदेखि गिरावटको बाटो समात्यो । अन्तिम दिनसम्म पनि गिरावटको क्रमले नै निरन्तरता पायो । गत साताको अन्तिम दिन १३४३.८५ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १३३७.४६ अंकमा छ । जसअनुसार, यो साता सेयर बजारमा ६.३९ अंकको गिरावट आएको छ । 

साताभरको कारोबारलाई हेर्दा पहिलो दिनदेखि क्रमशः घट्दै गएको देखिन्छ । आइतबार ६५ करोडको कारोबार भएको बजारमा सोमबार झन्डै ८२ करोडको कारोबार भएको थियो । आइतबार सेयर बजार २५ अंकले बढेपछि लगानीकर्ता सकारात्मक बनेका थिए । यद्यपि, सोमबार बजार ओरालो लागेपछि मंगलबारदेखि कारोबार रकममा क्रमशः गिरावट देखियो । जसअनुसार, मंगलबार ६० करोड, बुधबार ३४ करोड र विहीबार ३० करोडको कारोबार भयो । समग्रमा साताभर दुई अर्ब ७४ करोड ११ लाख ७५ हजार सात सय ४२ रुपैयाँ पुँजी परिचालन भयो । कारोबार रकम गत साताको तुलनामा भने बढी हो । गत साता दुई अर्ब ५८ करोड ६६ लाख रुपैयाँको कारोबार भएको थियो । 

यो साता पनि धेरै कारोबार हुने कम्पनीहरुमा बैंक अफ काठमाण्डू लुम्बिनी, प्रभु बैंक, नेपाल टेलिकम लगायत छन् । कमाउने कम्पनीहरुमा आइएलएफसीओ माइक्रोफाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स लगायत छन् भने गुमाउने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स, सेती फाइनान्स, छिमेक लघुवित्त लगायत छन् ।

गत साता सकारात्मक हुँदै गएर बजार यो साता नकारात्म बन्दै जाँदा पुनः लगानीकर्ता निराश भएका छन् । स्थानीय निर्वाचन, बजेट तथा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लगायतको प्रभाव सेयर बजारमा देखिएको छ । पुँजीगत खर्चको निराशाजनक विवरण, मौद्रिक नीतिको परिमार्जनमार्फत घरजग्गा कर्जामा कडाई लगायतका कारण सेयर बजार प्रभावित भएको देखिन्छ ।