सिद्धार्थ बैंक लिमिटेडका सेयरधनीले ३९ प्रतिशत बोनस सेयर पाउने भएको छन् । बैंकको विहीबार सम्पन्न पन्ध्रौं वार्षिक साधारणसभाले बैंकले हालै जारी गरेको २५ प्रतिशत हकप्रद सेयरलाई समेत समावेश गरिएको पुँजीको आधारमा गणना गरी ३९ प्रतिशत बोनस सेयर प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेकोे हो ।
साथमा साधारणसभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्विरोध निर्वाचन समेत गरेको छ । नवनिर्वाचित सञ्चालकहरु मनोज कुमार केडिया, नरेन्द्र कुमार अग्रवाल, वीरेन्द्र कुमार शाह र दिनेश शंकर पालिखे रहेका छन् ।
त्यसैगरी उक्त साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको समेत निर्विरोध निर्वाचन गरेको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट निर्वाचित संचालकहरुमा महेश प्रसाद पोखरेल, हेमन्त ज्ञवाली र राजेश कुमार केडिया रहेका छन् ।
चालु आर्थिक वर्ष २०७३/७४ को पौष मसान्तसम्ममा सिद्धार्थ बैंकले ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सोही अवधिमा बैंकले कुल निक्षेप ७४ अर्ब ९३ करोड रुपैयाँ संकलन गरी ६२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले हाल नेपालभर ६३ शाखा, ८२ ए.टि.एम र विभिन्न ६९ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।



