कुमारी बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त गरेको छ । बोर्डले कुमारीलाई आइतबार (फागुन १ गते) हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो ।
बैंकले एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
हाल बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस र हकप्रद सेयर वितरण गरेपछि बैंकको पूँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुग्नेछ ।
यसबाहेक कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई खरिद गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी छ अर्ब रुपैयाँ नाघ्नेछ ।


