२०७३ माघ २८ गते

१३ सयको विन्दुबाट झर्यो सेयर बजार, साताभरमा ८६.५६ अंकको गिरावट

साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक २८.७५ अंकले घट्यो । तर, कारोबारमा भने राम्रो वृद्धि देखियो । हुन त, यो साताभर नै नेप्से परिसूचक घटिरह्यो । मंगलबारहेक हरेक दिन दोहोरो अंकले घट्यो सेयर बजार । गत साताको अन्तिम दिन १३८२.८१ अंकमा बन्द भएको बजार यो साताको अन्तिम दिन १२९६.२३ अंकमा झरेको छ । जसअनुसार, साताभरमा नेप्से परिसूचक ८६.५८ अंकले घटेको छ । 

कारोबार रकम भने साताको सुरुमा निराशाजनक देखिएपनि अन्तिममा सुधारोन्मुख देखिएको छ । साताको पहिलो दिने २६ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार २३ करोड ६१ लाख रुपैयाँको कारोबार भएको थियो । मंगलबारदेखि भने कारोबार बढ्न थाल्यो । जसअनुसार, मंगलबार, बुधबार र विहीबार क्रमशः ३१ करोड ९८ लाख रुपैयाँ, ३४ करोड रुपैयाँ र ५७ करोड ६० लाख रुपैयाँको कारोबार भयो । समग्रमा, साताभर एक अर्ब ७३ करोड ९२ लाख १२ हजार चार सय ८८ रुपैयाँ पुँजी परिचालन भएको छ ।

यो साता कारोबारका आधारमा प्रभु बैंक अग्रस्थानमा छ, जसको साताभरमा झन्डै १० करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक, जलविद्युत् लगानी तथा विकास कोष, नेपाल इन्भेष्टमेन्ट लगायतको पनि राम्रै कारोबार भएको छ । 

सूर्या लाइफ इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, सिर्जना फाइनान्स, रिलायबल माइक्रोफाइनान्स, हिमालयन जेनेरल इन्स्योरेन्स लगायतका सेयरधनीले आफ्नो सम्पत्ति घटाउँदा महालक्ष्मी विकास बैंक, जेविल्स फाइनान्स, माउन्ट मकालु डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले धेरथोर कमाइ गरेका छन् ।  

निरन्तर ओरालो लागेर सेयर बजार १२ सयको रेञ्जमा झरेपछि लगानीकर्ता निरुत्साहित भएको अवस्था छ । ठूला भनिएका कम्पनीहरुको सेयरमूल्यमा एकाएक गिरावट आउन थालेपछि लगानीकर्ताहरु आत्तिएका छन् । यद्यपि, सेयर मूल्य घटेको यो बेला ठूला कम्पनीको सेयर किनेर राख्नु उचित हुने सेयर विश्लेषकहरु बताउँछन् । सेयर बजार सँधै घट्ने वा सँधै बढ्ने नभएकाले यो समय सेयर बेच्ने नभएर किन्ने समयको भएको उनीहरुको तर्क छ ।