बुधबार सेयर बजार २१.६२ प्रतिशतले घट्दा १३ वटा कम्पनीका सेयरधनीले अधिकतम ५.६ प्रतिशतदेखि न्यूनतम ०.१९ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति बढाएका छन् । महालक्ष्मी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै र बुटवल पावर कम्पनीका सेयरधनीले सबैभन्दा कम कमाएका हुन् । यीबाहेक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, ङादी ग्रप पावर, निर्धन उत्थान बैंक, प्रोग्रेसिभ फाइनान्स, जेविल्स फाइनान्स,गुहेश्वरी मर्चेन्ट बैंक, कालिका माइक्रोक्रेडिट, ज्योति विकास बैंक, जानकी फाइनान्स, खानीखोला हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा भने सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ, जसका सेयरधनीले ६.४१ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । लक्ष्मी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, हिमालयन जेनेरल इन्स्योरेन्स, तिनाउ विकास बैंक, नविल व्यालेन्स फण्ड, मिथिला लघुवित्त, सेती फाइनान्स, सानिमा माइ हाइड्रो, किसान माइक्रोफाइनान्स लगायतका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।
नेप्से परिसूचक १३२२.९८ अंकमा झर्दा कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । मंगलबार ३१ करोडको कारोबार भएको बजारमा बुधबार ३४ करोडको कारोबार भएको छ । दिनभरिमा १३७ वटा कम्पनीको १० लाख १८ हजार छ सय दुई कित्ता सेयर चार हजार छ सय ६८ पटक खरिदविक्री हुँदा कुल ३४ करोड ५७ लाख १७ हजार नौ सय ४० रुपैयाँ पुँजी परिचालन भएको छ ।
कुल कारोबारमध्ये, सबैभन्दा धेरै प्रभु बैंकको दुई करोड ५० लाख ७८ हजार १७ रुपैयाँको सेयर कारोबार भएको छ । एभरेष्ट बैंकको पनि दुई करोडमाथिको सेयर कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक प्रोमोटर, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, नेशनल लाइफ इन्स्योरेन्स, सानिमा बैंक, एनआईसी एसिया बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
बुधबार कारोबार भएका सबै समूहका सूचक रातो भएका छन् । सबैभन्दा धेरै बीमा समूह १७९.०९ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः १८.५९, ४४.३९, २०.६४, २०.७२, ७.७७ र ९.२६ अंकले घटेका छन् ।



