मंगलबार पनि सेयर बजार घटेर बन्द भएको छ । यद्यपि, सोमबारको तुलनामा गिरावटको दरमा कमी आएको छ । सोमबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार ४.२४ अंकले घटेर १३४४.६० अंकमा कायम भएको हो । फाइनान्स र अन्य समूहबाहेक कारोबार भएका सबै समूह रातो भएपछि नेप्से परिसूचक पनि रातो भएको छ । मंगलबार सबैभन्दा धेरै होटल समूह ४१.७ अंकले घटेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत् र बीमा समूह क्रमशः ५.१५, ३.२६, ६.२१ र २३.५६ अंकले ओरालो लागेका छन् । फाइनान्स र अन्य भने क्रमशः ०.३७ र ३.१८ अंकले बढेका छन् ।
मंगलबार कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । सोमबार २३ करोडको मात्रै कारोबार भएको बजारमा मंगलबार ३१ करोड ९८ लाख ८० हजार छ सय एक रुपैयाँको सेयर कारोबार भएको छ । दिनभरिमा १३२ वटा कम्पनीको ११ लाख ८५ हजार सात सय ६४ कित्ता सेयर तीन हजार छ सय ५९ पटक खरिदविक्री भएका छन् । कुल कारोबारमध्ये, प्रभु बैंकको दुई करोड २१ लाख १४ हजार एक सय चार रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको पनि दुई करोडमाथिको कारोबार भएको छ । नेपाल टेलिकमको एक करोड ९७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एक करोडमाथिको कारोबार भएको छ । जलविद्युत लगानी तथा विकास कोष, नेपाल बैंक र नबिल बैंक प्रोमोटरको क्रमशः ८८ लाख ९७ हजार, ८७ लाख ६१ हजार र ७९ लाख ५९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
३७ वटा कम्पनीका सेयरधनीले अधिकतम ४.८२९५ प्रतिशतदेखि न्यूनतम ०.०४७२ प्रतिशतसम्मका दरले कमँएका छन् । सबैभन्दा धेरै नेपाल बैंकका सेयरधनीले कमाएका छन् भने डिप्रोक्स डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा कम कमाएका छन् । सानिमा माइ हाइड्रो र सिनर्जी फाइनान्सका सेयरधनीले पनि चार प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । अरुण फाइनान्स, हाम्रो विकास बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स, रुरल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले ७.१३ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा तिनाउ विकास बैंक, एनआईबीएल समृद्धि फण्ड, गहेश्वरी मर्चेन्ट बैंक, रिलायबल माइक्रोफाइनान्स र वोमी माइक्रोफाइनान्सका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । हिमालयन जेनेरल इन्स्योरेन्स, आईएलएफसीओ माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, अल्पाइन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


