पछिल्लो समय सेयर बजार वियरिस ट्रेण्डमा छ । यो साताको दुई दिनमा मात्रै सेयर बजार झन्डै ३४ अंकले घटेको छ । कारोबार रकम पनि निरन्तर घटिरहेको छ । केही समय ५० करोडसम्मको कारोबार भएको बजारमा पछिल्लो दुई दिन क्रमशः २६ करोड र २३ करोडको कारोबार भएको छ । ठूला कम्पनीहरुको सेयरमूल्य लगातार घटिरहेका छन् । दैनिकजसो गुमाउनुपर्दा लगानीकर्ताको मनोबल पनि गिर्दो छ । यसरी निरन्तर रुपमा किन घटिरहेको छ त, सेयर बजार ?
(१)बजारमा तरलताको अभाव
पछिल्लो समय बजार ओरालो गतितिर लाग्नुको प्रमुख कारण हो तरलता अभाव । पुँजीगत खर्चमा कमि आए संगै बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भएका विवरणहरु आईरहेका छन् । यसबाट ब्याजदरमा बृद्धि भएको छ भने बैंक तथा वित्तीय संस्थाहरुले ओभर ड्राफ्ट र सेयर कर्जामा कटौती गर्नाले त्यसको सीधा असर सेयर बजारमा देखिएको छ ।
(२)हकप्रद र बोनसको असर
राष्ट्र बैंकको पुँजीवृद्धि योजना अनुरुप पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले पुँजी बृद्धिको लागि ठुलो परिणममा हकप्रद र बोनस सेयर वितरण गरिरहेको छन् । जसको असर विस्तारै विस्तारै सेयर बजारमा देखिन थालेको छ । हकप्रद र बोनसबाट बजारमा ठुलो मात्रामा सेयरको भोलुम देखिएको छ । आपूर्तिमा ब्यापक चाप देखिएको छ तर, सोही अनुसारको माग भने देखिएको छैन । यसरी माग र आपुर्तीको सन्तुलन नमिल्दा बजार कमजोर देखिएको छ । त्यस्तै हकप्रद र एफपीओ भर्नको लागि लगानीकर्ताहरुले धमाधम आफ्नो पुरानो सेयर बेचेर स्रोत जुटाउँदै छन् । जसले बजारमा बिक्री चाप देखिएको छ ।
(३) स्थानीय तहको निर्वाचन
पछिल्लो समय सेयर बजारलाई प्रभाव पार्ने मूख्य तत्व भनेको स्थानीय तहको निर्वाचन हो । निर्वाचन कहिले र कसरी गर्ने भन्ने कुराको नै टुंगो लाग्न नसक्दा सेयर बजारमा अन्यौलको स्थिती देखिएको छ । नेपाल सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै आयोगको आइतबार बसेको बैठकले स्थानीय निर्वाचन २०७४ जेठ १ मा पहिलो र जेठ २० गतेदेखि दोस्रो गरी दुई चरणमा गर्ने प्रस्ताव सरकारलाई पठाएको छ । निर्वाचनको टुंगो लागेपछि लगानीकर्ताको मनोबलमा राहत पुग्ने अनुमान गर्न सकिन्छ ।
(४) लगानीकर्तामा परिपक्वताको अभाव
लगानीका अन्य क्षेत्रहरुमा भन्दा सेयर बजारमा बढी जोखिम रहन्छ । निरन्तर घटबढ भइरहनु यसको विशेषता हो । तर, लगानीकर्तामा सेयर घट्दा र बढ्दा कसरी रियाक्ट गर्ने भन्ने ज्ञान नहुँदा सेयर घट्नेवित्तीकै बेच्नेको चाप बढ्ने र बजार बढ्नेवित्तीकै किन्नेको चाप बढ्ने गरेको छ । यस किसिमको लगानीकर्ताको अपरिपक्व व्यवहारका कारण नेपालको सेयर बजार प्रभावित भइरहने गरेको छ । यसै पनि नेपालको सेयर बजार प्राविधिक तथा ब्यवस्थापकीय रुपमा कमजोर रहेको छ । त्यसमाथि, अस्थिर र अल्पकालिन प्रवृत्तिका लगानीकर्ताहरुको मनोविज्ञानले बजार अझै परिपक्व बन्न सकेको छैन । परिणमस्वरुप बजारमा हल्ला र अफवाहहरुले आतंक मच्चाउँछ । अस्थिर लगानीकर्ताहरु रहेको बजारमा चलेका नकारात्मक हल्लालाई लगानकीर्ताले सामना गर्न सक्दैनन् र बजार आतंकित बन्ने गरेको छ । यसकारण नै अहिले बजार घटिरहेको छ । यसबाट बजारमा लगानीकर्ताको खर्बौँ रुपैया डुबेको छ ।
विभिन्न हल्लाका कारण आतंकित भएका लगानीकर्ताले ठुलो घाटा सहेर भएपनि सेयर बेच्न खोज्दा पुँजी बजारको पहिरो झनै ठुलो हुँदै गईरहेको छ । यो अबस्थालाई तत्काल सन्तुलनमा राखी आम लगानीकर्ताको पुँजी सुरक्षीत गर्नु सरोकारवालाको कर्तव्य र जिम्मेवारी हो । तर, अहिले बजारमा आएको गिरावट नियन्त्रण गरी आफ्नो लगानीको सुरक्षा गर्ने मुख्य जिम्मेवारी स्वयम् लगानीकर्ताको नै हो ।
