नेपालको पहिलो तथा ऐतिहासिक बैंक नेपाल बैंक लिमिटेडले हकप्रद सेयर जारी गरेर नेपाल राष्ट्र बैंकले तोकेअनुरुप न्युनतम चुक्तापुँजी पुर्याउने भएको छ । ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम बैंकले आफ्ना सेयरधनीहरुलाई १०ः२.३७४ अर्थात १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । हकप्रद सेयर निष्काशनको लागि बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल बैंक लिमिटेडले प्रति सेयर १०० रुपैयाको दरले एक करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ । नेपाल बैंकमा हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । हाल यस बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १३० वटा शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै व्यावसायीक सम्भाव्यताको आधारमा विगतमा विस्थापित शाखाहरु पुनःस्थापना गर्ने कार्य पनि क्रमिक रुपमा भइरहेको बैंकले जनाएको छ ।


