२०७३ माघ १७ गते

नेप्सेमा ६५.४४ अंकको पहिरो,५ कम्पनीले सामान्य कमाउँदा ९ कम्पनीले गुमाए १०%

सेयर बजारमा ६५.४४ अंकको पहिरो जाँदा पनि पाँच वटा कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेर १३०९.७० अंकमा कायम भएको बजारमा पाँच कम्पनीको सेयरमूल्य अधिकतम ५.५६ प्रतिशतदेखि न्युनतम ०.१८ प्रतिशतसम्मले बढेको हो । सोमबार सेयरमूल्य बढ्ने कम्पनीहरुमा  अरुण फाइनान्स(५.५६ प्रतिशत), वरियन्टल होटल्स(१.९१ प्रतिशत), राष्ट्रिय बीमा कम्पनी(०.८५ प्रतिशत), रिलायन्स फाइनान्स(०.४९ प्रतिशत) र एक्सेल डेभलपमेन्ट बैंक(०.१८ प्रतिशत) रहेका छन् । 

यता, आठ वटा कम्पनीका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, हिमालयन जेनेरल इन्स्योरेन्स, सोल्टी होटल, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल ग्रामीण विकास बैंक र समिट माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले गुमाएका हुन् । यसबाहेक, युनाइटेड इन्स्योरेन्स, नागरिक लगानी कोष, प्रभु इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, प्रिमियर इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त, स्वाबलम्बन विकास बैंक, नेको इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, साना किसान विकास बैंक, नेपाल इन्स्योरेन्स, अपि पावर कम्पनी, रिडि हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स डेभलपमेन्ट बैंक, जेविल्स फाइनान्स, सेञ्चुरी बैंक, कालिका माइक्रोक्रेडिट, सिद्धार्थ डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका सेयरधनीले ९ देखि ९.९९ प्रतिशत सम्मका दरले गुमाएका छन् । 

सोमबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ५४६.५५ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ६०.५५, १२८.४८, ४८.९९, ७३.०९, ३५.९२ र १५.०४ अंकले घटेका छन् । दिनभरिमा ५३ करोड ६६ लाख २८ हजार तीन सय ८५ रुपैयाँ बराबरको कारोबार भएको छ, १२३ वटा कम्पनीको ११ लाख २६ हजार चार सय ६५ कित्ता सेयर पाँच हजार छ सय ४९ पटक खरिदविक्री भएका छन् । 

धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ९० लाख ५० हजार रुपैयाँको कारोबार भएको छ भने नेपाल बंगलादेश बैंकको दुई करोड ८० लाखको कारोबार भएको छ । सिद्धार्थ बैंक, प्रभु बैंक र बैंक अफ काठमाण्डू लुम्बिनीको पनि दुई करोडमाथिको कारोबार भएको छ । सनिमा बैंकको एक करोड ९८ लाखको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, एसियन लाइफ इन्स्योरेन्स लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ ।