गोर्खाज फाइनान्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । फाइनान्सले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार राई र एनआइबिएलको तर्फबाट महाप्रबन्धक मेखवहादुर थापाले हस्ताक्षर गरेका हुन् ।
फाइनान्सले एक सय रुपैयाँ अंकित दरमा २८ लाख ९३ हजार तीन सय १३ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । फाइनान्सको २२औं बार्षिक साधारणसभाले दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।
हाल गोर्खाज फाइनान्सको चुक्तापुँजी ५७ करोड ८६ लाख रुपैयाँ रहेको छ । उक्त चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ८६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।
समस्याग्रस्त अवस्थामा रहेको साविकको गोर्खा विकास बैंक लिमिटेड र काठमाडौं फाइनान्स लिमिटेड गाभिएर गोर्खाज फाइनान्स लिमिटेड बनेको हो ।



