सोमबार सेयर बजार घटेपनि कारोबार रकममा सुधार देखिएको छ । ७.९६ अंकले परिसूचक घटेको दिन कारोबार रकम १३ करोडभन्दा बढीले वृद्धि भएको हो । नेप्से परिसूचक १४५७.८८ अंकमा झर्दा ४३ करोडको कारोबार भएको छ । दिनभरिमा १३४ वटा कम्पनीको २३ लाख २५ हजार सात सय ६९ कित्ता सेयर दुई हजार नौ सय ९६ पटक खरिदविक्री हुँदा कुल ४३ करोड २३ लाख ३२ हजार आठ सय ६६ रुपैयाँ पुँजी परिचालन भएको हो ।
उत्पादनमूलक र फाइनान्सबाहेक सबै समूह घटेपछि ओरालो लागेको सोमबारको सेयर बजारमा कारोबार रकम प्रभु बैंकको सेयरले सम्हालेको छ । सबैभन्दा धेरै बीमा समूह ६६.१३ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र अन्य क्रमशः ८.६३, १७.४३, ६.६३, २.८५ र ४.९२ अंकले घटेका छन् । उत्पालनमूलक र फाइनान्स भने क्रमशः ७.३६ र २२.७२ अंकले बढेका छन् ।
प्रभु बैंकको प्रोमोटर र साधारण सेयर गरेर झन्डै १३ करोडको कारोबार भएको छ । नविल ब्यालेन्स फण्ड, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी, डिप्रोक्स डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
कुल ३७ वटा कम्पनीका सेयरधनीले अधिकतम ३.८५ प्रतिशतदेखि न्युनतम ०.२३९८ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति बढाएका छन् । मेरो माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् भने ग्लोबल आईएमई बैंकका सेयरधनीले सबैभन्दा कम कमाएका छन् । अपि पावर कम्पनी, ललितपूर फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, वेष्टर्न डेभलपमेन्ट बैंक, समिट माइक्रोफाइनान्स, नागरिक लगानी कोष, युनिलिभर नेपाल, सगरमाथा फाइनान्स, युनाइटेड फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको खानीखोला हाइड्रोपावरका सेयरधनीले ८.६९ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा मिथिला लघुवित्त र महालक्ष्मी विकास बैंकका सेयरधनीले क्रमशः ७.७९ र ५.९७ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् । सहयोगी विकास बैंक, किसान माइक्रोफाइनान्स, ज्योति विकास बैंक, हिमालयन डिस्टीलरी, सगरमाथा इन्स्योरेन्स, वरियन्टल होटल्स, रिलायबल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



