मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक मर्जरमा जाने भएपछि दुबै बैंकको सेयर कारोबार स्थगित भएको छ । गत साता दुई बैंकबीच मर्जरमा जाने सम्झौता भएपछि आइतबारदेखि मर्जर प्रयोजनका लागि दुबै बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
क वर्गको मेगा बैंक र ख वर्गको राष्ट्रियस्तरको टुरिजम डेभलपमेन्ट बैंकले १००ः९५ को स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिका लागि निर्धारण गरेको समयसीमाको छ महिना मात्र बाँकी रहँदा यी दुई बैंकले मर्जरमा जाने सम्झौता गरेका छन् । मर्जरपछि बन्ने बैंकको सीईओ र अध्यक्षमा साविककै मेगा बैंकका सीईओ र अध्यक्ष रहने गरी सम्झौता भएको छ भने मर्जरपछि बन्ने बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै रहने भएको छ ।
मेगा बैंकले १३.२५ प्रतिशत बोनस सेयर जारी गरेर चुक्तापुँजी साढे चार अर्ब पुर्याएको छ । टुरिजम डेभलपमेन्ट बैंकले झन्डै पाँच करोड रुपैयाँ चुक्तापुँजी भएको मातृभूमि विकास बैंक र १० करोड रुपैयाँ चुक्तापुँजी भएको कालिञ्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति(एक्वायर) गरेर चुक्तापूँजी ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैयाँ पुर्याएको छ । त्यस्तै, बैंकले यी दुई संस्थालाई एक्वायर गरेपछि कायम हुन आउने पूँजीको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमो हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । हकप्रद निष्काशनपछि बैंकको चुक्तापूँजी १ अर्ब ८४ करोडको हाराहारीमा पुग्नेछ । बैंकले १९.८ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ । बैंकले हाल कायम चुक्तापुँजी ७८ करोड रुपैयाँको १९.८ प्रतिशतले हुन आउने १४ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । बोनस सेयर र हकप्रद सेयर पछि बैंकको चुक्तापुँजी एक अर्ब ९९ करोड ४४ लाख रुपैयाँ पुग्नेछ । यी दुई संस्था गाभिएपछि बन्ने बैंकको चुक्तापुँजी साँढे छ अर्ब पुग्नेछ ।


