आफ्नो ५२ औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय वाणिज्य बैंकले शनिबार राजधानीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले जनतामा वित्तीय सेवाको पहुँच सहितको वित्तीय साक्षरताका अभिबृद्धिका लागि उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वित्तीय साक्षरता झल्काउने ब्यानर र प्लेकार्ड सहित सयौंको संख्यामा बैंकका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
साथै, कार्यक्रममा संचालक समितिका अध्यक्ष डा.रवीन्द्र प्रसाद पाण्डे, संचालक प्रा.डा.रामदेब सिंह, प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृतद्धय बिष्णु बैद्य, भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, कबिराज अधिकारी, केशब प्रसाद लम्साल, टेकराज जोशी लगायतको उपस्थिती रहेको थियो । बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा बाट शुरु भएको प्रभातफेरी कार्यक्रम भद्रकाली, शहिदगेट, रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली हुंदै पुनःकेन्द्रीय कार्यालय सिंहदरबार प्लाजा परिसरमा पुगी समापन भएको थियो ।
वार्षिकोत्सवकै अवसर पारेर बैंकका ९५ जना कर्मचारीहरुले रक्तदान पनि गरेका थिए । सो अवसरमा करिब ४ सय जना कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । साथै, बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न खेलकुद प्रतियोगिताको पनि आयोजना गरेको थियो । ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, हाजिरीजवाफ लगायतको प्रतियोगितामा बैंकका कर्मचारीहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगतामा बिजयी हुनेहरुलाई आईतबार विशेष कार्यक्रमका बीच पुरस्कार बितरण गरिने बताइएको छ ।
