साताको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । आइतबारदेखि नै निरन्तर ओरालो गतिमा रहेको बजार विहीबार ०.३३ अंकले बढेर बन्द भएको हो । विहीबार नेप्से परिसूचक १४६२.५६ अंकमा छ । बैंकिङ र उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह ५२.२४ अंकले बढेको छ । व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १.१३, ३.०२, ०.७३, १०.७४, ५.४४ र १.६ अंकले बढेका छन् । बैंकिङ र उत्पादनमूलक भने क्रमशः ३.५१ र ८.८५ अंकले घटेका छन् ।
नेप्से परिसूचकसँगै कारोबार पनि सामान्य बढेको छ । बुधबार ३० करोड ९४ लाखको कारोबार भएको बजारमा विहीबार ३३ करोड ९५ लाखको कारोबार भएको छ । दिनभरिमा १३१ वटा कम्पनीको ११ लाख एक हजार चार सय दुई कित्ता सेयर तीन हजार दुई सय ४१ पटक खरिदविक्री हुँदा कुल ३३ करोड ९५ लाख २३ हजार चार सय ४७ रुपैयाँ पुँजी परिचालन भएको छ ।
कुल कारोबारमध्ये, युनियन फाइनान्स प्रोमोटरको दुई करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ भने प्रभु बैंकको पनि दुई करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, एसबीआई बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक प्रोमोटर र एभरेष्ट बैंकको ८५ लाखमाथिको कारोबार भएको छ ।
राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ९.४४ प्रतिशतका दरले कमाउँदा कर्णाली डेभलपमेन्ट बैंक र वरियन्टल होटल्सका सेयरधनीले क्रमशः ८.१३ र ५.७३ प्रतिशतका दरले कमाएका छन् । एनबि इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, वेस्टर्न डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, सगरमाथा इन्स्योरेन्स, साल्ट ट्रेडिङ, नेपाल एसबीआई बैंक लगायतले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको हिमालयन डिस्टीलरीका सेयरधनीले ५.६२९६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । मिथिला लघुवित्त, युनाइटेड फाइनान्स प्रोमोटर, ग्रीन डेभलपमेन्ट बैंक, सेती फाइनान्स, मेगा बैंक, ङादी पावर ग्रुप, बरुण हाइड्रो, जनउत्थान सामुदायिक लघुवित्त, सहयोगी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।
