बुधबार सेयर बजार सामान्य ०.८१ अंकले घटेर बन्द भएको छ । कारोबार खुलेदेखि झन्डै डेढ घण्टासम्म निरन्तर ओरालो लागेर १४५६ अंकसम्ममा झरेको बजार सम्हालिँदै १४६२.२३ अंकमा कायम भएको हो । बुधबार विकास बैंक र बीमाबाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै होटल समूह २२.६२ अंकले घटेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः ३.५८, ७.०८, ४.६४, १७.४६ र २.३१ अंकले घटेका छन् । विकास बैंक र बीमा भने क्रमशः ६.०६ र ६६.७१ अंकले बढेका छन् ।
बुधबार कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार सवा ३४ करोडको कारोबार भएको बजारमा बुधबार ३० करोडको मात्रै कारोबार भएको छ । दिनभरिमा १३३ वटा कम्पनीको १२ लाख १७ हजार छ सय १९ कित्ता सेयर तीन हजार एक सय १६ पटक खरिदविक्री हुँदा कुल ३० करोड ९४ लाख २७ हजार पाँच सय ३० रुपैयाँको कारोबार भएको छ ।
कुल कारोबारमध्ये, प्रभु बैंकको तीन करोड ६३ लाख २१ हजार छ सय ८९ रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, नविल ब्यालेन्स फण्ड र दुरसञ्चार कम्पनीको एक करोड माथिको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक र शिखर इन्स्योरेन्सको क्रमशः ९७ लाख र ९४ लाखको कारोबार भएको छ ।
तिनउ विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.७९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा जनउत्थान सामुदायिक लघुवित्तका ८.०८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । कालिका माइक्रोक्रेडिट र महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले ५.८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक, देवः विकास बैंक, पूर्णिमा विकास बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, डिप्रोक्स डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, नेपाल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहको हिमालयन डिस्टीलरीका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा खानीखोला हाइड्रो, सेती फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, र लक्ष्मी लघुवित्तका सेयरधनीले क्रमशः ९.८७, ८.२१, ६.७५ र ५.०६ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् । समिट माइक्रोफाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, वोमी माइक्रोफाइनान्स, राप्तीभेरी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।
