Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

नबिल बैंकका सेयरधनीलाई १५.८०% लाभांश, ५% बोनस सेयर पारित

२०८३ आश्विन २२ गते

बैंकिङ खबर / नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत लाभांश पाउने भएका छन्। बैंकको ४२औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहीबार सम्पन्न साधारणसभाले उक्त लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो। बैंकको हाल कायम चुक्ता पुँजी करिब २७ अर्ब ५ करोड रुपैयाँका आधारमा प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयरको रकम करिब १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। यस्तै, १०.८० प्रतिशत नगद लाभांशका लागि करसहित करिब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको रकम छुट्याइएको थियो।

साधारणसभाले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गर्ने एजेन्डा राखेको थियो। साथै, आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन अनुमोदन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पनि सभामा समेटिएका थिए।

यसैगरी, बैंकको अधिकृत पुँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधन तथा सम्भावित मर्जर तथा एक्विजिसनसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाका एजेन्डामा थिए।

नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको थियो। सञ्चालक समितिको ७१२औँ बैठकले सुरुमा १५.८० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो, जसलाई साधारणसभाबाट अनुमोदन गर्ने प्रक्रिया अघि बढाइएको थियो।