Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले आज ३० अर्ब तान्दै

२०८३ आश्विन २१ गते

बैंकिङ खबर /  बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप रकम प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आज ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न लागेको हो । राष्ट्र बैंकले उक्त रकम संकलनका लागि असोज २१ गते दिउँसो ३ बजे बोलकबोल गर्ने जनाएको छ। बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको उपलब्धता बढ्दै गएको अवस्थामा प्रणालीमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार उक्त बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल गरिने रकम भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निर्धारण गर्नुपर्नेछ। निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले तोकिएको प्रक्रियाअनुसार बहु ब्याजदरमा एकभन्दा बढी बोलकबोलसमेत गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यो पटकको निक्षेप संकलन उपकरणको अवधि एक महिनाको हुनेछ। यसमार्फत बैंकिङ प्रणालीबाट संकलन गरिएको रकमको साँवा तथा ब्याज कात्तिक १८ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा निक्षेपको वृद्धि तथा कर्जा विस्तारको तुलनामा लगानीयोग्य रकमको उपलब्धता बढी हुँदा प्रणालीमा अतिरिक्त तरलता थुप्रिने गर्छ। यस्तो अवस्थामा अन्तरबैंक ब्याजदर तथा समग्र बजारको तरलता अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ ।

निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट रकम तान्दा तत्कालका लागि वित्तीय प्रणालीमा उपलब्ध अतिरिक्त तरलता घटाउन मद्दत पुग्छ। राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा तथा बजारको तरलता अवस्थाअनुसार यस्ता उपकरणको प्रयोग गर्दै आएको छ ।