
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चल्तीका सिक्का टकसाल तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत एक रुपैयाँ दरका सिक्का डिजाइन, टकसाल, आपूर्ति तथा ढुवानी गर्ने कम्पनी छनोट गर्न लागेको हो ।
राष्ट्र बैंकले ४ अक्टोबर २०२६ मा बोलपत्रसम्बन्धी सूचना जारी गर्दै इच्छुक योग्य कम्पनीलाई सहभागिताका लागि आह्वान गरेको छ। बोलपत्र प्रक्रिया ‘सिंगल स्टेज, टू एनभेलप’ प्रणालीबाट अघि बढाइनेछ। बोलपत्रमा सहभागी हुने कम्पनीले प्राविधिक र मूल्य प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा पेश गर्नुपर्नेछ। सम्बन्धित बोलपत्र कागजात राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा टकसार विभाग, बालाजुबाट प्राप्त गर्न सकिनेछ ।
कम्पनीहरूले बोलपत्रसम्बन्धी कागजात २ नोभेम्बर २०२६ सम्म खरिद गर्न सक्नेछन्। त्यस्तै, बोलपत्रपूर्व बैठक १५ अक्टोबर २०२६ दिउँसो १२ बजे मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा आयोजना हुने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बोलपत्रदाताले आफ्नो सिलबन्दी बोलपत्र ३ नोभेम्बर २०२६ दिउँसो १२ बजेसम्म मुद्रा व्यवस्थापन विभागमा बुझाउनुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ ।
राष्ट्र बैंकका अनुसार बोलपत्रको वैधता अवधि १२० दिनको हुनेछ। बोलपत्रमा सहभागी हुने कम्पनीले न्यूनतम १४ लाख ८ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी समेत पेश गर्नुपर्नेछ। बोलपत्र कागजात खरिदका लागि नेपाली रुपैयाँमा २० हजार, अमेरिकी डलरमा १३१ डलर वा युरोमा ११५ युरो शुल्क तोकिएको छ। राष्ट्र बैंकले प्रचलित सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था तथा बोलपत्रका सर्तअनुसार कुनै वा सबै बोलपत्रलाई पूर्ण वा आंशिक रूपमा स्वीकार अथवा अस्वीकार गर्न सक्ने जनाएको छ।