
बैंकिङ खबर / चारवटा सूचीकृत कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताका लागि आज सेयर खरिद गर्ने अन्तिम दिन रहेको छ। कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्दैछन् ।
बुक क्लोज हुनुअघि आजसम्म सेयर कारोबार भई सम्बन्धित कम्पनीको सेयरधनी कायम हुने लगानीकर्ता मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्। साथै, उनीहरूले सम्बन्धित कम्पनीको साधारणसभामा समेत सहभागिता जनाउन पाउनेछन् ।
कुमारी बैंकको २.१०५३ प्रतिशत नगद लाभांश
कुमारी बैंकले सेयरधनीलाई २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभा असोज २८ गते काठमाडौंको सुवर्णशमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा आयोजना हुँदैछ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्ने जनाएको छ ।
सिटिजन्स बैंकको बोनस र नगद लाभांश
सिटिजन्स बैंक इन्टरनेसनलले ३.८ प्रतिशत बोनस सेयर र ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभा असोज २८ गते काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा आयोजना हुने भएको छ। लाभांश तथा साधारणसभा प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्नेछ।
विकास हाइड्रोपावरको १० प्रतिशत बोनस
विकास हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा असोज २९ गते काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबार प्रालिमा हुने भएको छ। कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम हुने सेयरधनी लाभांश तथा साधारणसभाका लागि योग्य हुनेछन्।
सानिमा मिडिल तमोरको ५.२६३ प्रतिशत नगद लाभांश
सानिमा मिडिल तमोर हाइड्रोपावरले ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभा असोज ३० गते काठमाडौं महानगरपालिका–४, चण्डोलस्थित कुण्डलिनी दरबार ब्यांक्वेटमा आयोजना हुँदैछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्नेछ।
त्यसअनुसार आजसम्म कम्पनीको सेयर कारोबार भई कायम हुने सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागिता जनाउन सक्नेछन्। बुक क्लोजको मितिपछि सेयर खरिद गर्ने लगानीकर्ता भने यी कम्पनीको चालु आर्थिक वर्षका लागि प्रस्तावित लाभांशमा सहभागी हुन पाउने छैनन्।