मंगलबार पनि सेयर बजार घटेरै बन्द भएको छ । साताको पहिलो दिनदेखि नै ओरालो गतिमा रहेको बजार मंगलबार ३.०५ अंकको गिरावटसँगै १४६३.०४ अंकमा कायम भएको छ । होटल, विकास बैंक र उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह २२.७७ अंकले घटेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ३.९९, ४.४८, ४.७ र २.६१ अंकले घटेका छन् । होटल, विकास बैंक र उत्पादनमूलक क्रमशः ३४.८५, २.८५ र ०.३५ अंकले बढेका छन् ।
सोमबार प्रभु बैंकको कारणले उत्साहजनक भएको कारोबार मंगलबार पुनः खस्किएको छ । मंगलबारको बजार सवा ३४ करोडको कारोबारमा सीमित भएको छ । जबकी, सोमबार ५८ करोड ८७ लाख रुपैयाँको कारोबार भएको थियो । मंगलबार दिनभरिमा १३० वटा कम्पनीको आठ लाख ५० हजार छ सय ६५ कित्ता सेयर तीन हजार तीन सय ५१ पटक खरिदविक्री हुँदा कुल ३४ करोड २५ लाख ५८ हजार नौ सय ४१ रुपैयाँ पुँजी परिचालन भएको छ ।
कुल कारोबारमध्ये, प्रभु बैंकको सात करोड चार लाख २९ हजार एक सय ९१ रुपैयाँको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकको एक करोड ८० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको ९८ लाख, ग्लोबल आईएमई बैंकको ८४ लाख, ग्रीन डेभलपमेन्ट बैंकको ८२ लाख र लक्ष्मी बैंकको ७७ लाख रुपैयाँको कारोबार भएको छ ।
कालिका माइक्रोक्रेडिटका सेयरधनीले मंगलबार सबैभन्दा धेरै ९.९४ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले ९.८९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । राप्तीभेरी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र महालक्ष्मी विकास बैंकका सेयरधनीले क्रमशः ७.६३, ५.६२, ५.२९ र ५ प्रतिशतका दरले कमाएका छन् । निर्धन उत्थान बैंक, तारागाउँ रिजेन्सी, गुहेश्वरी मर्चेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिर्जना फाइनान्सका सेयरधनीले ५.७५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले ५.२९ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् । तिनाउ डेभलपमेन्छ बैंक, नेरुडे लघुवित्त, भार्गव विकास बैंक, हाम्रो विकास बैंक, वोमी माइक्रोफाइनान्स, प्रभु बैंक, जेविल्स फाइनान्स, छिमेक लघुवित्त विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



