२०७३ माघ ४ गते

३० बैंकले पाए आस्वा स्वीकृति, ७३ जिल्लाका सर्वसाधारणले सेवा पाउने

माघ १ गतेदेखि लागू भएको आस्वा प्रणालीका लागि नेपाल धितोपत्र बोर्डले ३० वटा बैंकहरुलाई स्वीकृति प्रदान गरेको छ । बोर्डले २१ वटा वाणिज्य बैंक र नौ वटा विकास बैंकलाई आस्वाको अनुमति दिएको हो । यी बैंकहरुले मुगु र बाजुराबाहेकका ७३ जिल्लामा कुल एक हजार पाँच सय सात शाखामार्फत सेवा प्रदान गर्नेछन् । यसबाहेक, अन्य संस्थाले पनि आस्वाको लागि स्वीकृति माग गर्दै निवेदन दिएको र अन्य निवेदन समेत आउने क्रममा रहेकाले आस्वा सेवा प्रदान गर्ने शाखा संख्या बढ्दै जाने धितोपत्र बोर्डले जनाएको छ । 

माघ ९ गतेदेखि आईपीओ जारी गर्न लागेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले पहिलो पटक आस्वा प्रणालीको प्रयोग गर्दैछ । माघ १ गतेदेखि नै लागू हुने भनिए पनि यो बीचमा कुनै कम्पनीले प्राथमिक सेयर निष्काशन नगरेपछि फरवार्ड कम्युनिटीले आस्वा सुरु गर्ने कम्पनीको श्रेय पाउने भएको हो ।