
बैंकिङ खबर / आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको प्रमुख बैंक इन्टेसा सानपाओलोको प्राइभेट बैंकिङ इकाइ फिडेउरामबाट करिब ९ करोड ५० लाख युरो ठगी भएको घटना सार्वजनिक भएको छ ।
ठगीमा संलग्न समूहले बैंकका वरिष्ठ अधिकारीहरूकै नाम र पहिचान प्रयोग गर्दै ह्वाट्सएप सन्देश, फोन कल तथा एआईबाट तयार गरिएको नक्कली आवाजमार्फत रकम स्थानान्तरण गर्न निर्देशन दिएको अनुसन्धानबाट खुलेको छ । रोयटर्सका अनुसार सुरुमा बैंकबाट बाहिरिएको करिब ९ करोड ५० लाख युरोमध्ये आधाभन्दा बढी रकम फिर्ता ल्याइएको छ । तर, करिब ३ करोड ६० लाख युरो अझै फिर्ता हुन सकेको छैन ।
घटना फेब्रुअरी २०२६ मा सुरु भएको थियो । त्यतिबेला फिडेउरामका अध्यक्ष पाओलो मोलेसिनीले इन्टेसा सानपाओलोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्लो मेसिनाको नामबाट आएको जस्तो देखिने ह्वाट्सएप सन्देश प्राप्त गरेका थिए ।
उक्त सन्देशमा इन्टेसा सानपाओलोसँग सम्बन्धित एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय वित्तीय कारोबार तत्काल अघि बढाउनुपर्ने र त्यसका लागि फिडेउराममार्फत रकम व्यवस्थापन गर्नुपर्ने आशयको निर्देशन दिइएको थियो । ठगी गर्ने समूहले बैंकका अधिकारीबीच हुने औपचारिक संवादजस्तै वातावरण सिर्जना गर्दै मोलेसिनीलाई उक्त कारोबार वास्तविक भएको विश्वास दिलाएको थियो ।
त्यसपछि घटनाले थप विश्वसनीय रूप लियो । एउटा अन्तर्राष्ट्रिय कानुनी फर्मका वरिष्ठ साझेदारले फोन गरेको जस्तो देखिने गरी मोलेसिनीलाई सम्पर्क गरिएको थियो । अनुसन्धानमा संलग्न स्रोतका अनुसार उक्त फोनमा प्रयोग भएको आवाज सम्बन्धित वकिलको वास्तविक आवाजसँग मिल्ने गरी एआई प्रविधिबाट तयार गरिएको थियो ।
यसरी ह्वाट्सएप सन्देश र फोन कल दुवैबाट प्राप्त निर्देशन वास्तविक भएको विश्वासमा मोलेसिनीले फिडेउरामको वित्त तथा ट्रेजरीसम्बन्धी विभागलाई विदेशस्थित बैंक खातामा रकम पठाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । रकमको ठूलो हिस्सा चीन र हङकङतर्फका खातामा पठाइएको थियो ।
कसरी पत्ता लाग्यो ठगी ?
रकम स्थानान्तरण भएपछि फिडेउरामको प्रणालीले कारोबारमा असामान्य गतिविधि देखाएको थियो । त्यसपछि बैंकले तत्कालै सम्बन्धित कारोबारको समीक्षा गर्दै अन्य बैंक तथा विभिन्न देशका सम्बन्धित निकायलाई जानकारी गराएको थियो ।
चीन, पोर्चुगल र इटालीका अधिकारी तथा बैंकिङ संस्थाबीचको समन्वयबाट रकमको ठूलो हिस्सा रोक्न र फिर्ता ल्याउन सफल भएको जनाइएको छ । रोयटर्सका अनुसार करिब ५ करोड ३० लाख युरो फिर्ता प्राप्त गरिएको थियो ।
तर, बाँकी रकम विभिन्न देशका बैंक खातामार्फत घुमाउँदै अन्ततः क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि ती रकमको ठूलो हिस्सा ट्रेस गर्न कठिन भएको अधिकारीहरूले बताएका छन् ।
इटालियन समाचार एजेन्सी एएनएसएका अनुसार अनुसन्धानसम्बन्धी कागजातमा करिब ९ करोड ५० लाख युरोमध्ये करिब ३ करोड ९५ लाख युरो बराबरको रकम अझै फिर्ता हुन बाँकी रहेको उल्लेख छ । सोही विवरणअनुसार पोर्चुगलको एउटा बैंकमा १ करोड ३० लाख युरोभन्दा बढी रकम रोक्का गरिएको थियो भने चीनमा ४ करोड २० लाख युरो बराबरको रकम फिडेउरामकै पहलमा रोक्न सफल भएको थियो ।
नक्कली ‘सीईओ फ्रड’ को नयाँ रूप
यो घटनाले बैंकिङ क्षेत्रमा बढ्दै गएको ‘सीईओ फ्रड’ अर्थात् उच्च तहका अधिकारीको पहिचान प्रयोग गरेर रकम स्थानान्तरण गराउने ठगीको नयाँ स्वरूपलाई समेत उजागर गरेको छ ।
परम्परागत रूपमा यस्ता ठगीमा नक्कली इमेल वा सन्देशमार्फत कम्पनीका प्रमुखको नाम प्रयोग गरिन्थ्यो । तर, एआई प्रविधिको विकाससँगै ठगी गर्ने समूहले वास्तविक व्यक्तिको आवाजसमेत नक्कल गर्न सक्ने भएका छन् । यसलाई ‘भ्वाइस क्लोनिङ’ भनिन्छ ।
फिडेउरामको घटनामा पनि ठगी गर्ने समूहले एउटै घटनालाई विश्वसनीय बनाउन विभिन्न माध्यम प्रयोग गरेको देखिन्छ । पहिले सीईओको नामबाट ह्वाट्सएप सन्देश पठाइएको थियो भने त्यसपछि परिचित कानुनी व्यवसायीको आवाज नक्कल गरी फोन गरिएको थियो । यसले प्राप्त निर्देशन बैंकभित्रकै उच्च तहबाट आएको हो भन्ने विश्वास सिर्जना गर्न सहयोग गरेको अनुसन्धानमा उल्लेख छ ।
अनुसन्धानका अनुसार ठगी गर्ने समूहले फिडेउरामको ट्रेजरी तथा भुक्तानीसम्बन्धी जिम्मेवारीमा रहेका कर्मचारीलाई समेत बैंकका उच्च अधिकारीको नाम प्रयोग गरेर सम्पर्क गरेको थियो । यसबाट रकम स्थानान्तरणका लागि आवश्यक आन्तरिक प्रक्रिया अघि बढाउन सहज भएको देखिन्छ ।
बैंकको प्रणाली ह्याक भएको भने होइन
यो घटना बैंकको सूचना प्रविधि प्रणाली नै ह्याक गरेर रकम चोरी गरिएको प्रकृतिको भने होइन । उपलब्ध विवरणअनुसार ठगी गर्नेहरूले बैंकका कर्मचारी तथा अधिकारीलाई सामाजिक इन्जिनियरिङ र एआईबाट सिर्जित नक्कली पहिचान प्रयोग गरी रकम स्थानान्तरण गराएका थिए ।
फिडेउरामले कारोबारमा असामान्यता देखेपछि तत्काल प्रतिक्रिया जनाएका कारण रकमको ठूलो हिस्सा रोक्न र फिर्ता ल्याउन सम्भव भएको बताइएको छ ।
एक जनामाथि अनुसन्धान, रकम खोज्न अन्तर्राष्ट्रिय सहकार्य
घटनाको अनुसन्धान मिलानका अभियोजनकर्ताले गरिरहेका छन् । रोयटर्सका अनुसार युरोपबाहिर बस्ने एक विदेशी नागरिकमाथि कम्प्युटर ठगीको आशंकामा अनुसन्धान भइरहेको छ । फिडेउरामका पूर्वअध्यक्ष मोलेसिनी वा बैंकका अन्य कार्यकारीलाई भने घटनामा अभियुक्तका रूपमा अनुसन्धान गरिएको छैन ।
एएनएसएका अनुसार अनुसन्धानका क्रममा एक विदेशी नागरिकको नाम अनुसन्धानको दायरामा आएको छ, तर उक्त पहिचान वास्तविक हो वा नक्कली भन्ने विषयसमेत अनुसन्धानकै क्रममा रहेको छ । रकम विभिन्न देश हुँदै स्थानान्तरण गरिएकाले अनुसन्धानकर्ताहरूले अन्तर्राष्ट्रिय कानुनी तथा बैंकिङ सहकार्यको माध्यमबाट रकमको खोजी गरिरहेका छन् ।
मोलेसिनीले घटनाको केही समयपछि मार्चमा व्यक्तिगत कारण देखाउँदै फिडेउरामको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामाबारे त्यतिबेला बैंकले थप विवरण सार्वजनिक गरेको थिएन ।
इटालीमा यस्तै प्रकृतिका थप घटना
फिडेउरामको घटना एक्लो भने देखिएको छैन । मिलानका अभियोजनकर्ताहरूले एआई, नक्कली सन्देश र ‘भ्वाइस क्लोनिङ’ प्रयोग गरी बैंक तथा वित्तीय संस्थालाई लक्षित गरिएका अन्य घटनामाथि पनि अनुसन्धान अघि बढाएका छन् ।
एएनएसएका अनुसार अर्को एउटा घटनामा बैंककी एक व्यवस्थापकलाई संस्थाकै कर्मचारीबाट आएको जस्तो देखिने इमेलमार्फत विश्वस्त पारेर करिब २ करोड ४० लाख युरो बराबरका कारोबार गराइएको थियो । तीमध्ये करिब २ करोड युरो फिर्ता ल्याइएको जनाइएको छ । अर्को एउटा वित्तीय संस्थासँग सम्बन्धित घटनामा करिब २० लाख युरो बराबरको रकम ठगी भएको र त्यसको केही हिस्सा क्रोएसियामा फेला परेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
यसअघि पनि इटालीमा एआई प्रयोग गरी एक मन्त्रीको आवाज नक्कल गरेर व्यवसायी मासिमो मोराट्टीलाई करिब १० लाख युरो विदेशस्थित खातामा पठाउन लगाइएको घटना सार्वजनिक भएको थियो । उक्त रकम पछि फिर्ता ल्याइएको थियो ।
एएनएसएले उद्धृत गरेको एसोसिएसन फर फाइनान्सियल प्रोफेसनल्सको २०२५ को सर्वेक्षणअनुसार ७४ प्रतिशत संस्थाले ‘सीईओ फ्रड’ वा ‘बिजनेस इमेल कम्प्रोमाइज’ सम्बन्धी प्रयास वा सफल आक्रमणको सामना गरेको बताएका थिए, जुन अघिल्लो वर्षको ६३ प्रतिशतभन्दा बढी हो ।
यस घटनाले एआई प्रविधिले बैंकिङ कारोबारलाई सुरक्षित र प्रभावकारी बनाउन सक्ने सम्भावनासँगै यसको दुरुपयोगबाट सिर्जना हुने नयाँ किसिमका वित्तीय जोखिमलाई पनि उजागर गरेको छ । विशेषगरी उच्च तहका अधिकारीको आवाज र पहिचान नक्कल गर्न सकिने अवस्थामा केवल फोन वा सन्देशमा आएको निर्देशनका आधारमा ठूलो रकम स्थानान्तरण गर्नु थप जोखिमपूर्ण देखिएको छ ।