बैंकिङ खबर / डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । ईसेवा सञ्चालक समितिको बैठकले शर्मालाई कम्पनीको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनले आगामी असोज १२ गतेदेखि ईसेवाको नेतृत्व सम्हाल्नेछन् ।
बैंकिङ क्षेत्रमा रहँदा शर्माले डिजिटल प्रविधिको विस्तार तथा नवप्रवर्तनसँग सम्बन्धित विभिन्न पहलमा काम गरेका थिए । डिजिटल रूपान्तरणलाई संस्थागत रूपमा अघि बढाउने तथा नयाँ प्रविधिको प्रयोग विस्तार गर्ने क्षेत्रमा समेत उनको अनुभव रहेको छ । यसअघि ईसेवाको सीईओका रूपमा जगदीश खड्का कार्यरत थिए । उनको कार्यकाल सकिएपछि कम्पनीले शर्मालाई नयाँ सीईओ नियुक्त गरेको हो । शर्मासँग बैंकिङ क्षेत्रको लामो अनुभव छ । उनी यसअघि नबिल बैंकमा लामो समय कार्यरत थिए । बैंकिङ सेवासँगै डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा नयाँ प्रविधिको प्रयोगका क्षेत्रमा समेत उनले काम गरेको अनुभव छ ।
शैक्षिक रूपमा शर्माले सेन्ट जेभियर्सबाट प्रवेशिका तह उत्तीर्ण गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तहको अध्ययन पूरा गरेका हुन् । त्यसपछि दिल्ली विश्वविद्यालयबाट स्नातक गरेका शर्माले काठमाडौँ विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर ९एमबीए० गरेका छन् । ईसेवाको नेतृत्वमा शर्माको नियुक्तिसँगै डिजिटल भुक्तानी, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा कम्पनीले थप रणनीतिक पहल अघि बढाउने अपेक्षा गरिएको छ ।