काठमाडौं । नक्कली नोट देखाएर ठूलो रकम हात पार्ने प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक र चितवनको भरतपुर महानगरपालिका–१३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछाने रहेका छन् ।
नक्कली नोट देखाएर बढी रकम दिने प्रलोभनमा पार्ने यस्ता घटनामा सर्वसाधारणलाई सचेत रहन प्रहरीले आग्रह गर्दै आएको छ । पक्राउ परेका दुवै जनामाथि ठगी तथा नक्कली नोटसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको बल्खुबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नक्कली नोटसमेत बरामद गरेको जनाएको छ । वास्तविक रकमको बदलामा नक्कली नोट दिएर ठगी गर्ने उद्देश्यले योजना बनाइएको आशंकामा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरूले एक व्यक्तिलाई १० लाख रुपैयाँ ल्याएमा त्यसको बदलामा ३० लाख रुपैयाँ दिने भन्दै प्रलोभनमा पारेका थिए । सोही प्रलोभनमा पारी रकम लिएपछि ३० लाख रुपैयाँ बराबरको नक्कली नोट दिने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।