Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

११.६३ अंकले बजार घट्दा प्रभुको सेयरले बढायो कारोबार, कर्णालीका सेयरधनीले गुमाए

२०७३ माघ ३ गते

सोमबार पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ११.६३ अंकले घटेर १४६६.०९ अंकमा कायम भएको छ । फाइनान्सबाहेक सोमबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १३०.०३ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र अन्य क्रमशः ११.५४, ७.३८, ६.३, ७.०४ र ०.८६ अंकले घटेका छन् । फाइनान्स भने ०.८४ अंकले बढेको छ । 

कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । आइतबार साढे २७ करोडको कारोबार भएको बजारमा सोमबार ५८ करोडको कारोबार भएको छ । दिनभरिमा १२९ वटा कम्पनीको ७६ लाख ५१ हजार पाँच सय ४० कित्ता सेयर दुई हजार छ सय ८० पटक खरिदविक्री हुँदा कुल ५८ करोड ८७ लाख ६९ हजार एक सय ३६ रुपैयाँ पुँजी परिचालन भएको छ । 

कुल कारोबारमध्ये प्रभु बैंकको प्रोमोटर सेयर मात्रै २० करोड ४२ लाख ७७ हजार पाँच सय छ रुपैयाँको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको पौने छ लाख, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको चार करोड ९४ लाख, नविल ब्यालेन्स फण्डको चार करोड ७९ लाख, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको एक करोड ९३ लाख र सिद्धार्थ बैंकको एक करोड १३ लाखको कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ९४ लाख, लक्ष्मी बैंकको ८७ लाख, नविल बैंकको ८० लाख र नेपाल लाइफ इन्स्योरेन्सको ७८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा लुम्बिनी फाइनान्सका सेयरधनीले ७.५५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सहयोगी विकास बैंक, नेरुडे लघुवित्त, स्टान्डर्ड चार्टर्ड बैंक, सगरमाथा फाइनान्स, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, कञ्चन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने खानीखोला हाइड्रो, प्रभु बैंक र महालक्ष्मी विकास बैंकका सेयरधनीले क्रमशः ९.९१५, ९.८७३४ र ५.७९७१ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् । युनाइटेड इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स, कैलाश विकास बैंक, मिथिला लघुवित्त, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।