Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

सुस्त घरजग्गा बजारमा फर्कियो रौनक, एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार

२०८३ भाद्र ३० गते

Signs It's Time to Hire a Property Managerबैंकिङ खबर / लामो समयदेखि सुस्त रहेको घरजग्गा कारोबार आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य रूपमा चलायमान भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागअन्तर्गत मूल्य महाशाखाले सार्वजनिक गरेको चौथो त्रैमासिक राजीनामा कारोबारसम्बन्धी अध्ययनले गत आर्थिक वर्षमा देशभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँमा सीमित थियो । एक वर्षको अवधिमा घरजग्गा कारोबारको रकम ३ खर्ब ३४ अर्ब ७१ करोड रुपैयाँले बढेको हो । यसले घरजग्गा बजारमा कारोबारको गतिविधि उल्लेख्य रूपमा बढेको संकेत गरेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो वर्षको तुलनामा ४.७४ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा भने कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो ।

चौथो त्रैमासमा मात्रै घरजग्गाको कुल कारोबार संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा लिखत पारित कारोबार १२.२८ प्रतिशत र त्यसमध्ये राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।

चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ थियो । यस हिसाबले एक वर्षको अवधिमा त्रैमासिक कारोबार रकम पनि दोब्बरभन्दा बढी भएको देखिन्छ ।

घरजग्गा कारोबारसँगै कारोबार भएको कुल क्षेत्रफलमा समेत वृद्धि भएको छ । चौथो त्रैमासमा कारोबार भएको क्षेत्रफल १५.४१ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो ।

घरजग्गा कारोबार बढ्दा सरकारको आम्दानी पनि उकालो

घरजग्गा बजारमा कारोबार बढेसँगै यसबाट सरकारलाई प्राप्त हुने राजस्वमा समेत उल्लेख्य सुधार आएको छ । चौथो त्रैमासमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८.२६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो राजस्व वृद्धिदर २३.४५ प्रतिशत थियो ।

पूँजीगत लाभकर संकलनमा भने अझ उच्च वृद्धि देखिएको छ । समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित पूँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि २९.९८ प्रतिशत थियो ।

यसले घरजग्गा कारोबारमा आएको विस्तारले सरकारी राजस्व संकलनमा समेत प्रत्यक्ष प्रभाव पारेको देखाउँछ ।

घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा पनि वृद्धि भएको छ । आवासीय घरजग्गा कर्जासहित रियल स्टेट क्षेत्रमा प्रवाह भएको कर्जा ६.९३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कर्जा वृद्धि ५.८६ प्रतिशत थियो ।

बागमतीमा घरजग्गा कारोबारको गति सबैभन्दा तीव्र

प्रदेशगत तथ्यांक हेर्दा बागमती प्रदेश घरजग्गा कारोबार विस्तारमा सबैभन्दा अगाडि देखिएको छ । चौथो त्रैमासमा बागमती प्रदेशमा राजीनामा कारोबार संख्या ६९.३८ प्रतिशतले बढेको छ ।

यस अवधिमा मधेश प्रदेशमा भने राजीनामा कारोबार संख्या ३.४४ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा राजीनामा कारोबार बढेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

कारोबार भएको क्षेत्रफलमा समेत बागमती प्रदेश अगाडि रहेको छ । बागमतीमा कारोबार क्षेत्रफल ५०.२४ प्रतिशतले बढ्दा मधेश प्रदेशमा भने ६.१९ प्रतिशतले कमी आएको छ ।

कारोबारको कुल मूल्य भने सातवटै प्रदेशमा वृद्धि भएको छ । बागमती प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य १७५.३३ प्रतिशतले बढेको छ । मधेश प्रदेशमा भने सबैभन्दा कम ३१.९८ प्रतिशत वृद्धि भएको छ ।

प्रदेशगत रूपमा हेर्दा २.५ आनादेखि १० आनासम्म क्षेत्रफल भएका प्लटहरू सबैभन्दा बढी कारोबारमा आएका छन् ।

काठमाडौंमा घरजग्गाको मूल्य कारोबारमा २१७ प्रतिशतको उछाल

महानगरपालिकामध्ये काठमाडौंमा घरजग्गा कारोबारको विस्तार सबैभन्दा तीव्र देखिएको छ । चौथो त्रैमासमा काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५५.७४ प्रतिशतले बढेको छ ।

ललितपुर महानगरपालिकामा कारोबार संख्या १३६.९२ प्रतिशतले बढेको छ । त्यस्तै पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार संख्या बढेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

कारोबार भएको क्षेत्रफलमा पनि काठमाडौं महानगरपालिका नै अगाडि रहेको छ । काठमाडौंमा यस्तो क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ । वीरगञ्जमा भने क्षेत्रफल वृद्धि सबैभन्दा कम १३.३१ प्रतिशत रहेको छ ।

कारोबारको कुल मूल्यमा पनि सबै महानगरपालिकामा वृद्धि भएको छ । काठमाडौं महानगरपालिकामा कारोबार मूल्य २१७.४० प्रतिशतले बढेको छ, जुन महानगरपालिकामध्ये सबैभन्दा उच्च वृद्धि हो ।

उपमहानगरपालिकामा पनि कारोबार विस्तार

उपमहानगरपालिकातर्फ कलैयाबाहेक अन्य सबैमा घरजग्गा कारोबार संख्या बढेको छ । धनगढी उपमहानगरपालिकामा कारोबार संख्या ७३.१६ प्रतिशतले बढेको छ । कलैयामा भने कारोबार संख्या स्थिर रहेको अध्ययनले देखाएको छ ।

कारोबार भएको क्षेत्रफलका आधारमा हेटौंडा उपमहानगरपालिका अगाडि रहेको छ । हेटौंडामा कारोबार क्षेत्रफल १०४.१६ प्रतिशतले बढेको छ ।

त्यस्तै, सबै ११ वटा उपमहानगरपालिकामा घरजग्गा कारोबारको कुल मूल्य बढेको छ । हेटौंडामा यस्तो मूल्य १८६.८० प्रतिशतले बढेको छ, जुन उपमहानगरपालिकामध्ये सबैभन्दा उच्च वृद्धि हो ।

राष्ट्र बैंकले भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त घरजग्गा कारोबारसम्बन्धी तथ्यांक तथा बैंक तथा वित्तीय संस्थाबाट संकलन हुने रियल स्टेट कर्जासम्बन्धी तथ्यांकलाई आधार बनाएर अध्ययन तयार गरेको जनाएको छ ।

समग्र तथ्यांकले पछिल्लो आर्थिक वर्षमा घरजग्गा कारोबारको संख्या मात्र नभई कारोबार रकम, कारोबार क्षेत्रफल, सरकारी राजस्व, पूँजीगत लाभकर र रियल स्टेट कर्जासमेत बढेको देखाएको छ । लामो समयदेखि सुस्त रहेको घरजग्गा बजारमा देखिएको यो सुधारले अर्थतन्त्रका अन्य क्षेत्रमा समेत यसको प्रभाव विस्तार हुन सक्ने संकेत गरेको छ ।