Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्तले भोटेकोशी बाढीपीडितका लागि ४० लाख रुपैयाँ सहयोग

२०८३ भाद्र ३० गते

बैंकिङ खबर / स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल सरकारलाई ४० लाख रुपैयाँ सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष प्रा.डा. कुसुम शाक्यले बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ४० लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

संस्थाका अनुसार उक्त रकममध्ये २५ लाख रुपैयाँ संस्थागत तर्फबाट, ३० हजार ६ सय रुपैयाँ सञ्चालकहरूका तर्फबाट तथा १४ लाख ६९ हजार ४ सय रुपैयाँ कर्मचारीहरूको तर्फबाट संकलन गरिएको हो। उक्त सम्पूर्ण रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको संस्थाले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै संस्थाले विपद्को समयमा सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त योगदान गरेको जनाएको छ ।

स्वावलम्बन लघुवित्तले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष आग्रह गरेको छ ।

यसैबीच, संस्थाले आफ्नो वेत्रावती–रसुवा शाखामा कार्यरत कर्मचारीद्वय किरण थापा र राजकुमार दर्जी हालसम्म सम्पर्कविहीन रहेको जनाएको छ। उनीहरू लगायत बाढीमा परी बेपत्ता भएका नागरिकको सकुशल खोज तथा उद्धारका लागि पनि संस्थाले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ ।