ज्योति विकास बैंक लिमिटेडका सेयरधनीले ११.७० प्रतिशत बोनस सेयर पाउने भएका हुन् । बैंकको नवौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर जारी गर्ने निर्णय पारित गरेको हो । बैंकले हाल कायम चुक्तापुँजीको ११.७० प्रतिशत बोनस सेयर दिन लागेको हो ।
साधारणसभाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि पारित गरेको छ । बैंकले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
ज्योति विकास बैंक र झिमरुक विकास बैंक लि. एकआपसमा गाभिएर साउन २८ गतेदेखि एकीकृत कारोबार सुरु गरेको ज्योति विकास बैंकको चुक्तापुँजी ९८ करोड ६६ लाख ४५ हजार रुपैयाँ छ । उक्त पुँजीको ११.७० प्रतिशतले हुन आउने ११ करोड ५४ लाख ३७ हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब १० करोड २० लाख रुपैयाँ पुग्नेछ । त्यसपछि शतप्रतिशत हकप्रद सेयर जारी गर्दा ज्योति विकास बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले ३० करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ । चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर उक्त पुँजी थप गर्ने योजना बैंकको छ ।
बैंकको नवौ साधारणसभाले ध्रुव कोइराला, नारायण प्रसाद पौडेल र गोकर्ण खतिवडालाई साधारण सेयरधनीको तर्फबाट निर्देशकमा नियुक्त गरेको छ । त्यस्तै, संस्थापक सेयरधनीका तर्फबाट गोशाई केसी भण्डारी, हरिचन्द्र खड्का, मोहन बहादुर बस्नेत, सन्तोष अधिकारी र छत्रमान श्रेष्ठलाई निर्देशकको रुपमा चयन गरिएको बताइएको छ । बैंकले चार वर्षे कार्यकालका लागि नयाँ निर्देशकहरु चयन गरेको हो । त्यसैगरी, साधारणसभाको भोलिपल्ट पुस २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले हरिचन्द्र खड्कालाई अध्यक्ष पदमा नियुक्त गरेको समेत बताइएको छ ।


