बैंकिङ खबर / डा. हरिहरदेव पन्तको स्मृति दिवसका अवसरमा देशका विभिन्न प्रदेशका सात जना उत्कृष्ट लघुउद्यमी तथा व्यवसायी र एक जना आर्थिक पत्रकार पुरस्कृत भएका छन्।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा लघु उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने उद्यमीलाई ‘डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान गरिएको हो। पुरस्कारसँगै प्रत्येक उद्यमीलाई ५० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ।
पुरस्कृत हुनेमा कोशी प्रदेशबाट झापाको गौरादहमा बाख्रापालन व्यवसाय गर्दै आएकी शान्तिमाया तामाङ, मधेश प्रदेशबाट रौतहटमा माछापालन व्यवसाय सञ्चालन गर्दै आएकी रम्नवा देवी, बागमती प्रदेशबाट तरकारी व्यवसायमा संलग्न रिशिला तामाङ र गण्डकी प्रदेशबाट म्याग्दीमा बाख्रापालन व्यवसाय सञ्चालन गर्दै आएकी धनमाया गुरुङ छन्।
त्यस्तै, लुम्बिनी प्रदेशबाट साबुन, सर्फलगायतका वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएकी सीता काफ्ले, कर्णाली प्रदेशबाट जुम्लामा फर्निचर उद्योग सञ्चालन गरेकी पदमा देवी रोकाया र सुदूरपश्चिम प्रदेशबाट डडेल्धुरामा कुखुरापालन व्यवसाय गर्दै आएकी कविता साँकली पनि पुरस्कृत भएका छन्। उनीहरूले आफ्ना क्षेत्रमा उद्यम सञ्चालन गर्दै रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिमा योगदान पुर्याउँदै आएका छन्।
कार्यक्रममा ‘डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार’समेत प्रदान गरिएको छ। त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक हासिल गरेकी कमला पौडेललाई ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ। ग्रामीण विकासतर्फ निर्धन उत्थान लघुवित्तद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको जनाइएको छ।
यसै अवसरमा निर्धन उत्थान लघुवित्तले ‘समृद्धिको मार्गमा’ नामक पुस्तकसमेत लोकार्पण गरेको छ। संस्थाका उत्कृष्ट शाखाका उत्कृष्ट ग्राहक सदस्यहरूको व्यावसायिक प्रगति, आर्थिक उपलब्धि र सफलताका कथालाई समेटेर पुस्तक प्रकाशन गरिएको संस्थाले जनाएको छ।त्यस्तै, आर्थिक विकास, गरिबी न्यूनीकरण तथा लघुवित्त क्षेत्रका विषयमा पत्रकारितामार्फत योगदान पुर्याउने पत्रकारलाई प्रदान गरिने ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’बाट यस वर्ष लगानी न्युजका आशिष ज्ञवाली पुरस्कृत भएका छन्।