बैंकिङ खबर / लक्ष्मी सनराइज बैंकले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ ।
हालै आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो क्षति पुगेको थियो। बाढीका कारण धेरै परिवारको घर, जीविकोपार्जनका साधन तथा विभिन्न अत्यावश्यक पूर्वाधार प्रभावित भएका छन्।विपद्पछि तत्कालीन उद्धार तथा राहतका कामहरू अघि बढिरहे पनि प्रभावित समुदायलाई पुनःस्थापना र पुनर्निर्माणका लागि थप सहयोग आवश्यक रहेको भन्दै बैंकले उक्त रकम कोषमा प्रदान गरेको हो ।
बैंकका अनुसार सहयोगमार्फत बाढी प्रभावित परिवारलाई सामान्य जीवनमा फर्काउन तथा क्षतिग्रस्त संरचना र जीविकोपार्जनका माध्यम पुनःस्थापित गर्न भइरहेका सामूहिक प्रयासमा योगदान पुर्याउने उद्देश्य राखिएको छ।लक्ष्मी सनराइज बैंकले बाढी तथा अन्य विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सरकारी तथा सुरक्षा निकाय, उद्धारकर्मी, स्वयंसेवक र स्थानीय समुदायप्रति आभार व्यक्त गरेको छ ।
बैंकले विपद् तथा कठिन परिस्थितिमा प्रभावित समुदायको साथमा उभिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ ।