२०७३ माघ २ गते

सर्वसाधरणलाई १५ प्रतिशतसम्म ब्याज दिएर निक्षेप उठाउन गभर्नर नेपालको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले सर्वसाधरणलाई १५ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् । बिएन मिडियाले आयोजना गरेको ‘बैंक तथा वित्तीय संस्थाका चुनौति–पुँजी वृद्धिका लागि पूर्व तयारी तथा आगामी योजना’ विषयक अन्तरक्रिया कार्यक्रममा डा. नेपालले भने, ‘विकास बजेट खर्च नहुने समस्या अहिलेदेखिको होइन, पहिले देखिकै हो । तपाईहरु सर्वसाधारणलाई बढि ब्याज दिएर निक्षेप संकलन गर्नुस् ।’ गभर्नर डा. नेपालले हाल बैंक तथा वित्तीय संस्थाले संस्थागतलाई मात्र बढि ब्याज दिएकाले बढि ब्याजको लोभमा उनीहरु एउटा संस्थाबाट अर्को संस्थामा पैसा सार्ने गरेको बताए । तर सर्वसाधरणलाई १३/१४ प्रतिशत ब्याज दिने हो भने बैंकमा पैसा राख्नेको संख्या अझै बढ्ने उनको भनाई थियो । 

डा. नेपाल बोल्नुअघि बोलेका नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले झण्डै ६ महिनामा जम्मा ११ प्रतिशत मात्र विकास खर्च गर्नु दुखद भएको बताएका थिए । सरकारले सिन्को पनि नभाचेको भन्दै उनले आर्थिक वृद्धिको लक्ष्य पनि पूरा नहुने दाबी गरेका थिए ।

फरक प्रशंगमा गभर्नर डाक्टर नेपालले संसदबाट पारित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)मा राष्ट्र बैंकका केही प्रस्ताव नसमेटिएकोप्रति असन्तुष्टि जनाएका छन् । बाफियामा राखिएको कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालकको व्यवस्थाबारे संकेत गर्दै उनले असन्तुष्टि जनाएका हुन् । राष्ट्र बैंक, अर्थ मन्त्रालय अधिकारी र सांसदहरु बसेर तयार गरिएको व्यवस्था पारित हुँदा अर्कै भएर आएको उनको भनाई थियो । उनले भने, ‘सबैको सहमतिमा लेखिसकेको विषय बाटामा लैजाँदा कसैले यताउता पार्छ भने त्यस्तालाई के गर्न सकिन्छ र ?’