Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

शुक्रबारदेखि लगातार ५ दिन सार्वजनिक बिदा !

२०८३ भाद्र १८ गते

काठमाडौं । नेपालमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा पर्ने भएको छ । विभिन्न पर्व, नियमित साप्ताहिक बिदा र सरकारले थप गरेको सार्वजनिक बिदाका कारण भदौ १९ गते शुक्रबारदेखि २३ गते मंगलबारसम्म लगातार पाँच दिन सरकारी कार्यालय तथा अधिकांश सार्वजनिक निकाय बन्द रहने भएका छन् ।

पाँच दिन लामो बिदाको सुरुवात भदौ १९ गते शुक्रबारबाट हुनेछ । उक्त दिन गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीका अवसरमा सार्वजनिक बिदा छ । त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार नियमित साप्ताहिक बिदा परेको छ । त्यसैबीच बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) का अवसरमा भदौ २२ गते सोमबार चितवन, धादिङ र मकवानपुरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले दिएको स्थानीय बिदाले यी तीन जिल्लामा लगातार पाँच दिनको बिदा अवधि पूरा हुनेछ । यस्तै, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते मंगलबार जेन–जी शहीदको सम्झनामा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै देशभर भदौ १९ देखि २३ गतेसम्म लगातार पाँच दिन सार्वजनिक बिदा परेको हो ।

यसरी हेर्दा पाँच दिनको बिदामा दुई दिन पर्व बिदा, दुई दिन नियमित साप्ताहिक बिदा र एक दिन सरकारले घोषणा गरेको विशेष सार्वजनिक बिदा परेको छ । यद्यपि, भदौ २२ गतेको बिदा भने बागमती प्रदेशका चितवन, धादिङ र मकवानपुर जिल्लामा मात्र लागू हुनेछ । लगातार पाँच दिन सार्वजनिक बिदा पर्ने भएपछि नेपालमा सार्वजनिक बिदाको संख्या र यसको व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ । एकातर्फ धार्मिक, सांस्कृतिक तथा विशेष परिस्थितिमा सार्वजनिक बिदा आवश्यक हुने तर्क छ भने अर्कोतर्फ बिदाको संख्या बढ्दै जाँदा सरकारी सेवा प्रवाह, आर्थिक गतिविधि र कार्यालय सञ्चालनमा असर पर्न सक्ने भन्दै आलोचना हुने गरेको छ ।

विशेष परिस्थितिमा सरकारले थप बिदा घोषणा गर्ने क्रम बढेमा नियमित सार्वजनिक बिदा पुनरावलोकन गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ । विशेष बिदाका कारण लामो बिदाको अवस्था सिर्जना हुँदा त्यसको प्रभाव सरकारी सेवा, निजी क्षेत्र र समग्र आर्थिक गतिविधिमा कस्तो पर्छ भन्ने विषयमा पनि बहस आवश्यक देखिएको छ । यसपटक भने पर्व, सप्ताहन्त, प्रदेशस्तरीय बिदा र सरकारले घोषणा गरेको विशेष बिदा एकै ठाउँमा जोडिँदा पाँच दिनको लामो ‘होलिडे ब्रेक’ बनेको हो ।