Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

सार्वजनिक बिदामा पनि बैंकिङ सेवा नरोक्न राष्ट्र बैंकको निर्देशन

२०८३ भाद्र १८ गते

काठमाडौं / लगातार परेको सार्वजनिक बिदाका कारण बैंकिङ कारोबार प्रभावित नहोस् भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बिदाका दिनसमेत आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आवश्यकताअनुसार सेवा निरन्तरता दिन भनेको हो। विशेषगरी विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँग सम्बन्धित आर्थिक कारोबार सहज बनाउन बैंकिङ सेवा अवरुद्ध हुन नदिन केन्द्रीय बैंकले जोड दिएको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय आएको प्राकृतिक विपद्का कारण कतिपय क्षेत्रमा बैंकिङ सेवा सञ्चालनमा समेत समस्या देखिएको छ। यस्तो अवस्थामा प्रभावित नागरिक, व्यवसायी तथा राहत तथा उद्धारमा संलग्न निकायलाई आवश्यक वित्तीय कारोबार गर्न कठिनाइ नहोस् भन्ने उद्देश्यले बिदाको समयमा पनि सेवा उपलब्ध गराउन निर्देशन दिइएको हो । केन्द्रीय बैंकले १९ देखि २१ गतेसम्म लगातार परेको सार्वजनिक बिदाका दिनमा समेत बैंकिङ सेवा सुचारु राख्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ। सेवा सञ्चालन गर्दा प्रभावित क्षेत्रको अवस्था र स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्नसमेत भनिएको छ । राष्ट्र बैंकले बैंकिङ सेवा अवरुद्ध हुँदा विपद्बाट प्रभावित नागरिकले राहत रकम प्राप्त गर्ने, आवश्यक भुक्तानी गर्ने तथा अन्य अत्यावश्यक वित्तीय कारोबार गर्न समस्या हुन सक्ने भएकाले सेवा निरन्तरतामा विशेष ध्यान दिन निर्देशन दिएको हो ।
यससँगै बैंक तथा वित्तीय संस्थाले प्रभावित क्षेत्रमा नगद प्रवाह, भुक्तानी तथा अन्य अत्यावश्यक बैंकिङ कारोबार सहज बनाउने गरी सेवा व्यवस्थापन गर्नुपर्ने भएको छ ।