बैंकिङ खबर / नेपाल राष्ट्र बैंकको कारबाही र संस्थागत सुशासनसम्बन्धी प्रश्नका बीच सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थामा नेतृत्व परिवर्तन भएको छ। लामो समय अध्यक्षको जिम्मेवारीमा रहेका पद्मनाथ शर्मा बाहिरिएसँगै संस्थामा नयाँ नेतृत्व आएको हो ।
सीवाईसी नेपाल लघुवित्त पछिल्लो समय नियामक नेपाल राष्ट्र बैंकको निगरानीमा परेको थियो। राष्ट्र बैंकले गरेको सुपरिवेक्षणका क्रममा संस्थाको पुँजी पर्याप्तता अनुपात नियामकीय सीमाभन्दा तल झरेको पाइएपछि लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही अर्थात् ‘प्रम्प्ट करेक्टिभ एक्सन’ (पीसीए) अन्तर्गत राखिएको थियो ।
राष्ट्र बैंकका अनुसार सीवाईसीको पुँजी पर्याप्तता अनुपात ६.२०५ प्रतिशतमा सीमित भएको थियो। तोकिएको न्यूनतम पुँजीकोष कायम गर्न नसकेपछि राष्ट्र बैंकले संस्थालाई सुधारात्मक कदम चाल्न निर्देशन दिएको थियो ।
पुँजी पर्याप्तताको समस्या मात्रै होइन, संस्थाको आन्तरिक आर्थिक प्रशासन र संस्थागत सुशासनमा समेत नियामकले प्रश्न उठाएको थियो। सवारीसाधन खरिद गर्दा संस्थाको आर्थिक प्रशासन विनियमावलीमा तोकिएको खर्च सीमा तथा अख्तियारी पालना नगरेको पाइएपछि तत्कालीन अध्यक्ष पद्मनाथ शर्मासहित सञ्चालक समितिका सदस्यहरूलाई राष्ट्र बैंकले सचेत गराएको थियो ।
यसैबीच तत्कालीन अध्यक्ष शर्माले व्यक्तिगत तथा स्वास्थ्यसम्बन्धी कारण देखाउँदै अध्यक्ष पदबाट राजीनामा दिएका थिए। संस्थाले सार्वजनिक गरेको विवरणअनुसार उनको राजीनामा भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो।त्यसपछि भदौ ९ गते बसेको सञ्चालक समितिको १८३औँ बैठकले रिक्त पदमा संस्थापकतर्फबाट गोपालकुमार शर्मालाई नियुक्त गरेको विवरण सार्वजनिक भएको थियो। हाल भने सीवाईसी नेपाल लघुवित्तको आधिकारिक वेबसाइटमा डा. तरुण पौडेललाई सञ्चालक समितिको अध्यक्षका रूपमा उल्लेख गरिएको छ ।
नेतृत्व परिवर्तनसँगै नयाँ सञ्चालक समितिसामु संस्थाको वित्तीय स्वास्थ्य सुधार गर्नुका साथै आर्थिक अनुशासन र संस्थागत सुशासन बलियो बनाउने चुनौती थपिएको छ। राष्ट्र बैंकको कारबाहीपछि संस्थाले पुँजी पर्याप्तता अनुपात नियामकीय सीमाभित्र ल्याउने, खर्च तथा खरिद प्रक्रियालाई पारदर्शी बनाउने र आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउनेतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
यसअघि सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभामा समेत संस्थागत सुधार, सुशासन र राष्ट्र बैंकका निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव राधेश्याम श्रेष्ठले शेयरधनीबाट आएका सुझाव र गुनासा सम्बोधन गर्दै संस्थाको सेवा तथा समग्र कार्यसम्पादन थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए ।
सीवाईसी नेपाल लघुवित्तले हाल देशका सबै ७७ जिल्लामा १२४ शाखामार्फत वित्तीय सेवा दिइरहेको छ। संस्थासँग एक लाख २६ हजारभन्दा बढी सदस्य आबद्ध छन् भने ४२ हजारभन्दा बढी ऋणी सदस्य रहेका छन्। संस्थाको कर्जा लगानी करिब ६ अर्ब ७८ करोड रुपैयाँ तथा निक्षेप परिचालन करिब २ अर्ब ९८ करोड रुपैयाँ रहेको विवरण सातौँ वार्षिक साधारणसभामा सार्वजनिक गरिएको थियो ।
ठूलो सञ्जाल र हजारौँ सदस्यसँग प्रत्यक्ष वित्तीय कारोबार गरिरहेको संस्थाका लागि अब नेतृत्व परिवर्तन मात्रै पर्याप्त हुने छैन। राष्ट्र बैंकले औँल्याएका कमजोरी सच्याउँदै वित्तीय अनुशासन कायम गर्ने, निर्णय प्रक्रियालाई पारदर्शी बनाउने र निक्षेपकर्ता तथा शेयरधनीको विश्वास पुनः मजबुत बनाउने विषय नयाँ नेतृत्वको मुख्य परीक्षा बन्ने देखिन्छ ।