Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

नेपाल–चीन सीमासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन

२०८३ भाद्र १४ गते

काठमाडौं / नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप ७ स्थानमा मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ । कम्पनीले आज भदौ १४ गते बाढी प्रभावित क्षेत्रमा रहेका थप सातवटा साइटबाट सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकमका अनुसार बाढीका कारण प्रभावित अधिकांश मोबाइल बीटीएस साइटहरू सञ्चालनमा आइसकेका छन् । पछिल्लो पटक सञ्चालनमा आएका साइटमध्ये रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सीमामा रहेको रसुवागढी बोर्डर साइटसहित अपर सेन्जेन, छापथोके, जिबजिबे र गतलाङ साइट रहेका छन् ।त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट पनि मोबाइल सेवा पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

रसुवागढी बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेंसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ ।त्यस्तै, अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ तथा आमाछोदिङमो गाउँपालिका–५ लगायतका स्थानमा मोबाइल सेवा उपलब्ध हुने भएको छ । छापथोके साइटबाट बेत्रावती, काउली, त्रिशूली थ्री बी, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा सेवा प्राप्त हुनेछ ।

जिबजिबे साइटबाट कालिका गाउँपालिकाका वडा नं. २ र ५, धारापानी तथा देउरालीडाँडालगायतका स्थानमा मोबाइल सेवा सञ्चालनमा आएको छ । गतलाङ बीटीएस साइटमार्फत गतलाङ, गोल्जुङ, चिलिमे, ठूलो भाङ्गु, शेर्पा गाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेंसी, खाङजुम र बरिम क्षेत्रमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट विदुर नगरपालिकाका वडा नं. १२ र १३ मा पनि मोबाइल सेवा सुचारु भएको छ ।विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर खटिइरहेका छन् । कम्पनीले सञ्चार सेवा सुचारु तथा सेवाको निरन्तरताका लागि प्रतिबद्ध रहेको जनाएको छ ।