बैंकिङ खबर / कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्नो नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बर अनधिकृत रूपमा प्रयोग भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ।
महासंघले कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा सरकारी निकायमा आधिकारिक देखिने गरी पत्राचार भइरहेको जनाएको हो।
महासंघका अनुसार संस्थाको आधिकारिक पत्राचार विधान, संस्थागत निर्णय तथा सचिवालयको निर्धारित प्रक्रियाअनुसार अधिकारप्राप्त निकायबाट मात्रै हुने व्यवस्था छ। त्यसविपरीत जारी गरिएका कुनै पनि पत्र, निर्णय वा सूचना महासंघको आधिकारिक धारणा वा निर्णय नहुने स्पष्ट पारिएको छ।
महासंघले आफ्नो नाम, लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बरको अनधिकृत प्रयोग तत्काल रोक्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ। यस्तो गतिविधि पुनः दोहोरिएमा वा त्यसबाट संस्थाको प्रतिष्ठा, अधिकार तथा कामकारबाहीमा असर परेमा सम्बन्धित व्यक्ति वा पक्षविरुद्ध विधान तथा प्रचलित कानूनबमोजिम संस्थागत र कानुनी कारबाही अघि बढाउने महासंघले जनाएको छ।
त्यस्तै, क्यान महासंघको नामबाट प्राप्त हुने कुनै पनि पत्राचार वा निर्देशनको आधिकारिकता सचिवालयबाट पुष्टि नगरी कार्यान्वयन नगर्न महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, सरकारी निकाय, सदस्य संस्था तथा अन्य सरोकारवालालाई आग्रह गरेको छ।
महासंघका महासचिव चन्द्रविलास भुर्तेलद्वारा जारी प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिइएको हो।