बैंकिङ खबर/ रसुवामा आएको बाढीका कारण सम्पर्कविहीन भएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीमध्ये थप चार जना सम्पर्कमा आएका छन् । बुधबार साँझसम्म २६ जना कर्मचारी सम्पर्कविहीन रहेकोमा बुधबार रातिसम्म थप चार जना सम्पर्कमा आएका हुन्। नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका कर्मचारीको अवस्थाबारे संघले निरन्तर समन्वय गरिरहेको छ। सम्पर्कमा आएका चार कर्मचारीको नाम तथा उनीहरू कार्यरत संस्थाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन । संघले बिहीबार थप विवरण संकलन गरिरहेको जनाएको छ। थप कर्मचारी सम्पर्कमा आउने अपेक्षा गरिएको छ।
चार जना कर्मचारी सम्पर्कमा आएसँगै हाल सम्पर्कविहीन कर्मचारीको संख्या २२ जनामा झरेको छ। बाढीका कारण सञ्चार तथा यातायात सेवा प्रभावित भएकाले अन्य कर्मचारीसँग पनि सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । बाढीले रसुवाको टिमुरे क्षेत्रमा बैंकिङ संरचनामा ठूलो क्षति पुर्याएको छ। नेपाल राष्ट्र बैंकका अनुसार नौ वाणिज्य बैंकका नौ शाखासहित बैंक तथा वित्तीय संस्थाका १८ वटा शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। टिमुरेमा रहेका नौ वाणिज्य बैंकका शाखा बाढीमा पूर्ण रूपमा बगेका छन् । त्यस्तै, ज्योति विकास बैंकका चार, लुम्बिनी विकास बैंकका दुई तथा मुक्तिनाथ विकास बैंक, सांग्रिला विकास बैंक र आईसिएफसी फाइनान्सका एक-एक शाखामा पूर्ण क्षति पुगेको छ। बाढीबाट शाखा कार्यालयसँगै बैंकका कर्मचारीसमेत प्रभावित भएपछि बैंकिङ क्षेत्रले कर्मचारीको अवस्थाबारे जानकारी लिन तथा उद्धार र समन्वयका लागि प्रयास तीव्र बनाएको छ।