Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

घरेलु, साना, मझौला तथा उद्यमीलाई वित्तीय साक्षरतामा जोड, राष्ट्र बैंकले दियो यस्तो सन्देश

२०८३ भाद्र २ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले घरेलु, साना, मझौला तथा उद्यमीहरूका लागि वित्तीय साक्षरता तथा वित्तीय क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले व्यवसाय सञ्चालनका लागि वित्तीय साक्षरता अपरिहार्य रहेको भन्दै व्यवसाय दर्ता, सञ्चालन, विस्तार तथा बन्द गर्दा सही वित्तीय ज्ञान, क्षमता, व्यवहार, सोच र अनुशासन आवश्यक हुने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार उद्यमीहरूले व्यवसाय सञ्चालन गर्दा सबैभन्दा पहिले व्यावसायिक योजना र वित्तीय सेवाको सही छनोटमा ध्यान दिनुपर्छ। व्यवसायको योजना, प्रारम्भिक पुँजी, स्रोत तथा साझेदारी वा अन्य विकल्प छनोट गर्दा त्यसबाट प्राप्त हुने फाइदा र बेफाइदाको मूल्यांकन गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ ।

त्यस्तै, व्यावसायिक आवश्यकताअनुसार भुक्तानी तथा बचत सेवाको छनोट, प्रविधिमा आधारित वित्तीय सेवाको प्रयोग र व्यवसाय तथा व्यक्तिगत कारोबारका लागि छुट्टाछुट्टै खाताको प्रयोग गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।

व्यवसाय व्यवस्थापन तथा वित्तीय योजनाका क्रममा आवश्यक दर्ता, अनुमति, कर, छुट, कर्मचारी नियुक्ति तथा दर्ता खारेजीलगायतका कानुनी प्रक्रियाबारे जानकारी राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। व्यवसायको आम्दानी, खर्च, सम्पत्ति, दायित्व तथा लगानीको हिसाबकिताब राख्ने, वित्तीय विवरण तयार गर्ने तथा नगद प्रवाह व्यवस्थापनमा प्रविधिको प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

राष्ट्र बैंकले उद्यमीहरूलाई अल्पकालीन तथा दीर्घकालीन वित्तीय योजना बनाउनसमेत सुझाव दिएको छ। नगद आउने–जाने स्रोतको पहिचान, बजेट निर्माण, व्यवसाय विस्तारको दीर्घकालीन योजना तथा ऋण, साझेदारी र पुँजी योजनालाई व्यवस्थित बनाउनुपर्ने उसको भनाइ छ।

त्यसैगरी, जोखिम विविधीकरण र बीमालाई पनि व्यवसाय सञ्चालनको महत्वपूर्ण पक्षका रूपमा लिइएको छ। उद्यमी तथा कर्मचारीसँग सम्बन्धित जोखिम व्यवस्थापन, व्यक्तिगत बीमा तथा व्यवसायमा आउन सक्ने वित्तीय जोखिमको पहिचान गरी त्यसअनुसार बीमा तथा जोखिम विविधीकरणका उपाय अपनाउन राष्ट्र बैंकले सुझाव दिएको छ ।

राष्ट्र बैंकले व्यवसायीलाई आफ्नो व्यवसायमा आउन सक्ने वित्तीय जोखिम, व्यावसायिक सम्पत्तिमा हुन सक्ने क्षति, विविधीकरण तथा निर्जीवन बीमाको प्रयोगबारे समेत सचेत हुन आग्रह गरेको छ ।

यसैगरी, आर्थिक तथा राजनीतिक अवस्था, सामाजिक तथा प्रविधिगत परिवर्तन, प्रतिस्पर्धा, नियमनलगायत बाह्य प्रभावले व्यवसायको बजार, आम्दानी र खर्चमा पार्न सक्ने प्रभावबारे जानकारी राख्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

व्यवसाय सञ्चालन गर्ने क्रममा वित्तीय ग्राहकका अधिकार, गुनासो गर्ने निकाय तथा संरक्षणको व्यवस्थाबारे पनि उद्यमीहरू जानकार हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। व्यवसाय तथा वित्तीय सेवा छनोटका लागि आधिकारिक र निष्पक्ष सूचना तथा सल्लाहका स्रोत प्रयोग गर्न र निरन्तर वित्तीय क्षमता अभिवृद्धि गर्नसमेत आग्रह गरिएको छ ।

राष्ट्र बैंकले “सक्षम उद्यमी : दिगो रोजगारी सिर्जना, नवप्रवर्तन र आय विस्तारको आधार” भन्ने सन्देशसहित वित्तीय साक्षरतामार्फत उद्यमीको क्षमता अभिवृद्धिमा जोड दिएको हो ।

राष्ट्र बैंकले वित्तीय ग्राहकका गुनासो दर्ताका लागि gunaso.nrb.org.np अनलाइन पोर्टलको व्यवस्था गरेको जानकारीसमेत दिएको छ ।