Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

सरकार र निजी क्षेत्र मिलेर लगानी बढाउनुपर्छ : मनोज कुमार ज्ञवाली

२०८३ श्रावण २० गते

 बैंकिङ खबर/ नेपाल बैंकर्स संघका कार्यकारी सदस्य तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले अब सरकार, बैंक र निजी क्षेत्रबीच समन्वय गरेर लगानी विस्तार गर्नुपर्ने बताएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले बैंक तथा वित्तीय संस्थामा हाल करिब ८२ खर्ब रुपैयाँ निक्षेप रहेको र १४–१५ खर्ब रुपैयाँ बराबरको अतिरिक्त तरलता रहेको बताए। उनले बैंकिङ क्षेत्रले मुलुकको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै जलविद्युत्लगायतका ठूला पूर्वाधार आयोजना निजी क्षेत्र र बैंकिङ क्षेत्रको सहकार्यबिना सम्भव नहुने धारणा राखे।

उनले राज्यको स्रोत–साधन मात्र विकासका लागि पर्याप्त नहुने भएकाले बैंकिङ क्षेत्रको पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए। अर्थमन्त्री पनि अर्थतन्त्रलाई चलायमान बनाउन गम्भीर रहेको उल्लेख गर्दै सरकारसँग भएका स्रोत र बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य पुँजीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा छलफल केन्द्रित भएको उनले बताए। ज्ञवालीले उद्योग–व्यवसाय विस्तार, लगानी वृद्धि र आर्थिक गतिविधि चलायमान बनाउन सरकार, बैंकिङ क्षेत्र र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए।