ज्योति विकास बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणाली मार्फत सार्वजनिक निष्काशन (आइपिओ) तथा पुनः निश्काशन (एफपिओ) को सुविधा दिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
यससँगै, अब बैंकमा गएर सेयर लगानीकर्ताले फारम भरेपछि सेयर माग गरे बराबरको रकम खातामा रोक्का हुने भएको छ । सो अवधिमा पनि डिपोजिट रकमको ब्याज भने आइरहने बैंकले जनाएको छ । बैंकका अनुसार, सेयर लगानीकर्ताले भरेको उक्त फारम बैंकले मर्चेण्ट बैंकलाई पठाउनेछ । खाताबाट सेयर माग गरेको रकम मात्रै रोक्का राखिने बताइएको छ । पछि सेयर परेको रकम खाताबाट कटौति भई बाँकी रकम खातामा नै रहिरहने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार, उक्त रकम बाहेक ग्राहकको खाता नियमित सञ्चालन हुने अर्थात बाँकी रकम निकाल्न तथा राख्न सकिनेछ ।
नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेदेखि लागू गर्न लागेको आस्वा प्रणालीमार्फत सेयरमा लगानी गर्ने ज्योति विकास बैंकका निक्षेपकर्ताहरुले ज्योति विकास बैंककै खातामा जम्मा रहेको रकमबाट सार्वजनिक निष्काशन गरिएको सेयरमा लगानी गर्न सक्नेछन् । यो सुविधा ज्योति विकास बैंकमा देश भरी रहेका २९ वटा र निकट भविष्यमा संचालन हुन गई रहेका शाखाहरुबाट प्रदान गरिने बताइएको छ ।


