बैंकिङ खबर/ कार्यक्रमको प्रारम्भमा सञ्चालक सञ्जु घिमिरे ले स्वागत मन्तव्य व्यक्त गर्दै चुनौतीपूर्ण अवस्थाका बीच पनि संस्थाप्रति विश्वास कायम राखी साधारण सभामा सहभागिता जनाउने सम्पूर्ण शेयरधनीप्रति आभार व्यक्त गरे। उनले संस्थाको पुनःउत्थानको यात्रामा शेयरधनीको विश्वास नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे। उनले लघुवित्त क्षेत्र अहिले प्रतिस्पर्धा, नियामकीय दबाब, बढ्दो निष्क्रिय कर्जा र सञ्चालन लागतजस्ता चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै संस्थाले ती चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने लक्ष्यका साथ सुधारका कार्यक्रम अघि बढाइरहेको बताए। शेयरधनीको विश्वास, पारदर्शी व्यवस्थापन र दीर्घकालीन रणनीतिक योजनामार्फत संस्थालाई थप सक्षम, प्रतिस्पर्धी र दिगो वित्तीय संस्थाका रूपमा विकास गरिने उनको भनाइ थियो।
साधारण सभामा शेयरधनीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। २१ जना शेयरधनी ले प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै संस्थाको भावी सुधारका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए। छलफलका क्रममा विशेषगरी निष्क्रिय कर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, घाटामा सञ्चालन भइरहेका शाखाहरूलाई नाफामुखी बनाउने, कर्मचारी तथा जनशक्तिको उचित व्यवस्थापन गर्ने, संस्थाभित्र देखिएका आन्तरिक चुनौती समाधान गर्ने, कानुनी समयसीमाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने तथा शेयरधनीलाई नियमित प्रतिफल उपलब्ध गराउने विषयमा जोड दिइएको थियो। शेयरधनीका जिज्ञासा तथा सुझावको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेल ले संस्थाको वित्तीय अवस्था क्रमशः सुधारतर्फ उन्मुख रहेको जानकारी दिए। उनले निष्क्रिय कर्जा घटाउन विशेष अभियान सञ्चालन गरिएको, व्यवसायिक पुनर्संरचना अघि बढाइएको, शाखा सञ्चालनलाई थप प्रभावकारी बनाउने योजना कार्यान्वयन भइरहेको तथा नियामकीय मापदण्डअनुसार संस्थागत सुधारलाई निरन्तरता दिइएको बताए। उनका अनुसार संस्थाले आगामी दिनमा लागत नियन्त्रण, कर्जा गुणस्तर सुधार, प्रविधिमैत्री सेवा विस्तार, जोखिम व्यवस्थापन सुदृढीकरण तथा ग्राहक सेवा अभिवृद्धिलाई प्राथमिकतामा राख्दै व्यवसाय विस्तार गर्ने रणनीति अपनाउनेछ। शेयरधनीबाट प्राप्त सुझावलाई व्यवस्थापनले आगामी कार्ययोजनामा समेट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। साधारण सभाले सामान्य प्रस्तावअन्तर्गत रहेका पाँचवटै प्रस्ताव र विशेष प्रस्तावअन्तर्गत रहेका चारवटै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। विशेष प्रस्तावअन्तर्गत नियामकीय स्वीकृतिपछि पूँजी वृद्धि योजना कार्यान्वयन गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा आवश्यकता अनुसार समान प्रकृतिका लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने निर्णयलाई संस्थाको भावी रणनीतिक मोडका रूपमा हेरिएको छ।
लघुवित्त क्षेत्रमा पछिल्लो समय देखिएको प्रतिस्पर्धा, वित्तीय दबाब र सञ्चालन चुनौतीका कारण धेरै संस्थाहरू पूँजी सुदृढीकरण तथा व्यवसायिक पुनर्संरचनाको विकल्पतर्फ उन्मुख भइरहेका बेला नेरुडे मिर्मिरे लघुवित्तले पनि आफ्नो दीर्घकालीन रणनीतिलाई त्यसैअनुरूप अघि बढाउने संकेत दिएको छ। पूँजी आधार मजबुत बनाउने, सञ्चालन क्षमता विस्तार गर्ने र आवश्यक परे संस्थागत एकीकरणमार्फत थप सबल वित्तीय संस्था निर्माण गर्ने दिशामा कम्पनीले स्पष्ट सन्देश दिएको देखिन्छ। कार्यक्रमको समापनमा अध्यक्ष राजकुमार राईले साधारण सभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण शेयरधनी, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, नियामकीय निकाय, सञ्चारकर्मी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे। उनले शेयरधनीबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा कार्यान्वयन गर्दै व्यवसायिक सुदृढीकरण, सुशासन अभिवृद्धि, वित्तीय अनुशासन र शेयरधनी हित संरक्षणलाई आगामी कार्यकालको प्रमुख प्राथमिकता बनाइने बताए।
संस्थाले साधारण सभाबाट पारित भएका निर्णय र प्राप्त मार्गदर्शनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसायिक सुधार, वित्तीय सुदृढीकरण, जोखिम व्यवस्थापन, सुशासन अभिवृद्धि तथा दीर्घकालीन शेयरधनी हित संरक्षणलाई केन्द्रमा राखेर आगामी दिनमा थप सकारात्मक परिणाम हासिल गर्ने विश्वास व्यक्त गरेको छ। पूँजी वृद्धि र सम्भावित मर्जरको बाटो खुला गरिनुले संस्थाले अब केवल नियमित कारोबारमा सीमित नरही दीर्घकालीन संस्थागत रूपान्तरणको स्पष्ट रणनीति अवलम्बन गर्न खोजेको सन्देश दिएको छ।

