January 12th, 2017

जलविद्युत् आयोजनामा लगानी गर्न उर्लिँदैछ जनसागर : यस्तो छ लगानी गर्ने तरिका

जलविद्युत् आयोजना निर्माणका लागि सरकारले सर्वसाधारणबाट एक अर्बभन्दा बढीको लगानी प्रतिबद्धता जुटाएको छ । ‘नेपालको पानी जनताको लगानी’ नारा सहित देशको जलविद्युत् विकासका लागि सुरु गरिएको लगानी प्रतिवद्धता आह्वानमा संस्थागतभन्दा पनि व्यक्तिगत लगानीकर्ताको उपस्थिती उत्साहजनक पाइएको छ । 

जलविद्युत आयोजनाहरु आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजना अनुसार सरकारले अनलाइनमार्फत सर्वसाधारण जनतासँग लगानी प्रतिवद्धता माग गर्दै गत सोमबार एक वेभसाइट सार्वजनिक गरिएको थियो । प्रतिवद्धता माग गरिएको तीन दिनमा नै देखिएको उत्साहजनक उपस्थितीले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीहरुकै लगानीमा नेपालको आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य पूरा हुने संकेत देखिएको छ । 

सर्वसाधारण नेपालीले अप्पर अरुण, दूधकोशी, तमोर,  सुनकोशी ३,  लाङटाङ,  नलसिङगाड,  उत्तरगंगा, नौमुरे र तिला १ आयोजनामा सेयर लगानी गर्न सक्नेछन् । यसमा सरकारी तथा निजी बैंक तथा वित्तीय संस्था, कल्याणकारी कोषहरु, रेमिट्यान्स, सरकारी तथा निजी कर्मचारी, मजदुर तथा किसानहरुले प्रत्यक्ष सेयर लगानी गर्न पाउने छन् । 

कसरी गर्ने लगानी ?
सरकारले आह्वान गरेको लगानी प्रतिवद्धतामा सहभागी हुन पहिले http://www.moenonline.moen.gov.np/login मा गई आफ्नो एकाउन्ट बनाउनुपर्ने हुन्छ । त्यसपछि तपाईँले पेज खोलेको हो वा होइन भनेर नोटिफिकेसन तपाईको इमेलमा जान्छ । इमेलमा गएको लिंकलाई तपाईले क्लिक गरेपछि तपाईको ’युजर आइडी’ एक्टिभ हुन्छ । त्यसपछि पेजमा ‘सेयर लगानी प्रतिवद्धता फारम भर्नुहोस्’ भन्ने शीर्षकमा क्लिक गरी व्यक्तिगत विवरण भर्नुपर्छ । त्यसपछि आउने स्टेपहरुलाई फलो गर्दै जानुपर्छ र फारममा मागिएको विवरण भरेर फारम सबमिट गर्नुपर्छ ।

तपाईँले भर्नुभएको विवरणका आधारमा उर्जा मन्त्रालयले तपाईँलाई सम्पर्क गरी आयोजना अघि बढाउँदा सहभागी गराउने व्यवस्था मिलाइएको छ । सेयर लगानीका लागि पैसा तिर्ने विषयमा उर्जा मन्त्रालयले पछि छुट्टै सुचना निकाल्ने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]