Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२५ अर्ब रुपैयाँको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ निष्कासन गरिँदै

२०८३ असार १९ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्न आज २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ निष्कासन गर्ने भएको छ। उक्त ऋणपत्रका लागि आज बोलकबोल (अक्सन) प्रक्रिया सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ र यसको साँवा २०८४ असार १९ गते एकमुष्ट भुक्तानी गरिनेछ। ऋणपत्रमा प्राप्त हुने ब्याज भने प्रत्येक छ–छ महिनामा अर्धवार्षिक रूपमा लगानीकर्तालाई उपलब्ध गराइनेछ।

यस ऋणपत्रको ब्याजदर पूर्वनिर्धारित नहुने भएकाले बोलकबोल प्रक्रियाबाट तय गरिनेछ। सहभागी संस्थाहरूले आफूले चाहेको ब्याजदर प्रस्ताव गर्न सक्नेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदर उल्लेख गर्दै बहुब्याजदरमा समेत बोलपत्र पेश गर्न पाउने व्यवस्था गरिएको छ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा कुल आह्वान गरिएको २५ अर्ब रुपैयाँसम्मका लागि बोलपत्र पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

ऋणपत्रको बाँडफाँट गर्दा सबै प्रस्तावित ब्याजदरलाई कमदेखि बढी क्रमअनुसार मिलाइनेछ। त्यसपछि आह्वान गरिएको रकम पूरा हुने बिन्दुसम्म कायम हुने ब्याजदरलाई ‘एकल ब्याजदर’ (Single Cut-off Rate) का रूपमा निर्धारण गरिनेछ। सोही दर र त्यसभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सबै सफल बोलवालालाई एउटै ब्याजदरमा ऋणपत्र बिक्री गरिने व्यवस्था छ।

यदि कट–अफ ब्याजदरमै प्राप्त भएका बोलपत्रहरूको कुल रकम उपलब्ध निष्कासन रकमभन्दा बढी हुन गएमा भने त्यही ब्याजदरमा परेका सबै सफल बोलवालाबीच समानुपातिक (प्रो–राटा) आधारमा ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।