बैंकिङ खबर / बैंकहरूले जेठ महिनामा पनि व्याजदर घटाएका छन् । कर्जा प्रवाह अत्यन्तै कम हुँदा पनि व्याजदर घट्न छाडेको छैन । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर ४ देखि साढे ४ प्रतिशतसम्म छ । जेठ महिनामा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन् । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर वैशाखको तुलनामा ०.०५९५ प्रतिशत झरेर ४.३४३ प्रतिशत कायम भएको छ । वैशाखमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४०२५ प्रतिशत थियो ।
जेठमा ब्याजदर घटाएका ७ बैंकमा सिटिजन्स, हिमालयन, कुमारी, नेपाल, एनआईसी एसिया, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड छन् । त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, एसबीआई, प्राइम कमर्सियल, प्रभु, राष्ट्रिय वाणिज्य, सानिमा र सिद्धार्थ छन् । जेठमा अधिकतम ब्याजदर एनएमबीले ४.८० प्रतिशत तोकेको छ । सो ब्याजदर पनि ५ वर्ष वा सोभन्दा माथिको अवधिको व्यक्तिगत मुद्दती निक्षेपका लागि मात्रै दिने जनाएको छ । व्यक्तिगत मुद्दतीमा अब कुनै पनि बैंकले ४.८ प्रतिशतभन्दा माथि ब्याज दिने छैनन् ।


