सेती फाइनान्स लिमिटडका सेयरधनीले ५७ लाख १० हजार आठ सय रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने भएको छ । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि फाइनान्सले तीन लाख १६ हजार तीन सय ८७ रुपैयाँ ८१ पैसा नगद लाभांश पनि दिनेछ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।
गत मंसिर १ गतेदेखि पुस ५ गतसम्म १५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको सेती फाइनान्सको चुक्तापुँजी छ करोड ३४ लाख ५२ हजार चार सय रुपैयाँ छ । उक्त हकप्रद सेयर वितरण गरेपछि कम्पनीको चुक्तापुँजी नौ करोड ५१ लाख ७८ हजार छ सय रुपैयाँ पुग्नेछ । प्रस्तावित बोनस सेयर वितरण गरेपछि सेती फाइनान्सको चुक्तापुँजी १० करोड आठ लाख ८९ हजार चार सय रुपैयाँ पुग्नेछ । आगामी असार मसान्तसम्ममा कम्पनीले ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।