२०७३ पुष २४ गते

मनास्लु विकास बैंकको १८ प्रतिशत बोनस सेयर पारित

मनास्लु विकास बैंकका सेयरधनीले १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । बैंकको शनिबार सम्पन्न छैटौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर तथा यस अघि दिइएको हकप्रद सेयर समायोजन गरेपश्चात बैंकको चुक्ता तथा जारी पुजी ३० करोड ८३ लाख २९ हजार पाँच सय ६० रुपैयाँ र अधिकृत पुजी ५५ करोड रुपैयाँ पुग्ने बताइएको छ । यसअघि नै बैंकले पोखराकोओम डेभलपमेण्ट बैंकसंग मर्जरमा जाने निर्णय गरि सैद्धान्तिक समझदारी पत्रमा हस्ताक्षर गरि सैद्धान्तिक सहमतीका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिइसकेको छ ।     

साधारणसभाले बैंकका अध्यक्ष विजय मल्लद्धारा प्रस्तुत गरिएको प्रतिवेदन, आ.व. २०७३/०७४ को लागि वाह्य लेखापरिक्षकको नियुक्ती लगायत आ.व. २०७२/०७३ को वासलातलाई सर्वसम्मतीले पास गरेको छ । साथै, सर्वसाधारण तर्फका सेयरधनीहरुमध्ये २ जना बावुकाजी कार्की र होम प्रसाद जोशीलाई संचालक पदमा सर्वसम्मतले निर्वाचित गरेको छ ।  

आर्थिक वर्ष २०७२/०७३ मा ६ करोड ९४ लाख १९ हजार संचालन मुनाफा गरेको बैंकले २ अर्व १२ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी कर्जातर्फ एक अर्व ५९ करोड ४७ लाख रुपैयाँ प्रवाह गरेको छ ।चालु आ.व.को दोस्रो त्रैमाससम्ममा बैंकले आफ्नो निक्षेप तथा कर्जा दुवैमा उल्लेख्य वृद्धि गरि क्रमस रु २ अर्व १७ करोड ३ लाख निक्षेप संकलन र रु १ अर्व ७१ करोड ६७ लाख कर्जा लगानी गरि रु २ करोड ८ लाख २१ हजार संचालन मुनाफा कमाउन सफल भएको बताइएको छ ।

साधारण सभालाई सम्वोधन तथा आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने क्रममा बैंकका अध्यक्ष मल्लले बैंकको ब्यवसायिक बृद्धि दर सन्तोषजनक रहेको जानकारी दिए । साथै, आन्तरीक नियन्त्रण प्रणाली चुस्त दुरुस्त राखि गुणस्तरीय सेवा प्रवाह गरिरहेको यस बैंकले आगामी आर्थिक वर्षमा आफ्ना लगानीकर्ताहरुलाई अझ राम्रो प्रतिफल दिन सफल हुने जिकिर गरे । बैंकको कार्यक्षेत्र, ब्यवसायको आकार, सेयरधनीहरुको सुझाव तथा नियामक निकायहरुको नीतिगत ब्यवस्थालाई समेत मध्यनझर ओम डेभलपमेण्ट बैंकसंग मर्जरको प्रक्रिया अघि बढाइएको जानकारी गराउँदै मल्लले उक्त मर्जर पश्चात कायम हुने बैंकले हाल नेपाल राष्ट्र बैंकले तोकेको पुजी पुर्याई राष्टिय स्तरको विकास बैंकको रुपमा स्थापीत हुने र बैंक अझ सवल, सक्षम एवं ब्यावसायिक आकारमा समेत बृद्धि हुने कुरामा सेयरधनीहरुलाई विश्वस्त पारे । 

गोरखा, तनहु र चितवन गरि तिन जिल्ला कार्यक्षेत्र रहेको यस बैंकले २०६७ साल मंसीर २७ गते देखि आफ्नो कारोवार शुभारम्भ गरेको थियो । “हाम्रो साधन श्रोत हाम्रै क्षेत्रको विकासका लागि” भन्ने मुल नाराका साथ अधिकांश स्थानीय लगानीकर्ताहरुको लगानीमा स्थापित बैंकको प्रधान कार्यालय गोरखामा रहेको छ ।

बैंकको हाल गोरखाको केन्द्रीय कार्यालय वाहेक गोरखाकै आरुघाट बजार, लक्ष्मिबजार, तनहुको डुम्रेबजार, तुरतुरे बजार, दुलेगौडा बजार, आवुखैरेनी बजार, चितवनको नारायणघाट, पर्सा बजार र टाँडी बजारमा आफ्नो कार्यालय खोली सेवा प्रवाह गरिरहेको छ । साथै, आगामी माघको पहिलो सातादेखि गोरखाको मनकामनामा शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी साधारणसभामा दिइयो ।